साग : भ्रमण वर्ष विज्ञापनको निःशुल्क माध्यम

साग : भ्रमण वर्ष विज्ञापनको निःशुल्क माध्यम


यतिबेला पोखरा सागमय बनेको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।

पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिएका छन् । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उनको भनाइ छ । मन्त्री लम्साल भने, ‘यतिबेला नेपालबाहेक ६ देशका खेलाडीको जमघट छ । उनीहरू पोखरामा खेल मात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।’

‘साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ,’ उनले भने, ‘नेचर, कल्चर र एडभेन्चरलाई अन्तर्राष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवर्धन हुनेछ ।’ संस्कृतिको खानी पोखराको आसपास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उनले विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताए ।

त्यसैगरी पर्यटन व्यवसायीहरूमा पनि साग खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेल बताउँछन् । ‘आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ,’ उनले भने । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताए । उनले भने, ‘पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुसी हुनुभएको छ । यो पनि पर्यटन प्रवर्धनका लागि एउटा सकारात्मक पक्ष हो ।’ ‘कति कुरा तत्काल देखिँदैन, तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेलले पनि पोखरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उपयुक्त अवसर आएको बताए । ‘हामीले विभिन्न ठाउँमा सेल्समिसन कार्यक्रममार्फत पर्यटन प्रवर्र्धन गर्दै आएका छौँ । तर, यतिबेला नेपालबाहेक ६ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरूले प्रत्यक्ष यहाँको सुन्दरता, रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । नेपाल आउन प्रेरित गर्नेछन्,’ उनले भने ।

पोखरा अवर्णित शहर विदेशी खेलाडी

साग खेलमा सहभागी श्रीलंकाका खेलाडी अजिथ विजयसिंघेले आफ्नो नेपालको पोखरा आउने ड्रिम नै रहेको बताए । उनले भने, ‘नेपाल र विशेषगरी पोखराका बारेमा निकै सुनेको थिएँ । साग खेलले आफ्नो सपनाको शहर पोखरा घुम्ने रहर पूरा गरिदियो ।’

ब्याडमिन्टनका खेलाडी अजिथ पर्यटन व्यवसायीसमेत हुन् । नेपालमा साग खेल हुने कुराले नै उत्साहित भएको अनुभव सुनाउँदै उनले प्राकृतिक सुन्दरता भएको शहरमा खेल्दा आनन्द आएको बताए । उनले हवाईयात्राबाट अन्नपूर्ण हिमशृंखलाको पनि अवलोकन गरेको र पोखरा अवर्णित शहर भएको प्रतिक्रिया दिए ।

माल्दिभ्सका ब्याटमिन्टनका म्यानेजर खेलाडी अमिनाथ अहमेद दिदीले पनि आफूले सोचेभन्दा पोखरा निकै सुन्दर भएको बताए । उनले भने, ‘हामी राति आएका थियौँ, जब बिहान होटेलको झ्यालबाट फेवाताल र खुलेको हिमशृंखला देख्यौँ, हामीले नसोचेको पायौँ ।’ पोखराको गौरीघाटस्थित होटेल रानीवन आर्केटमा बसेको उनको टिमले पोखराको वातावरण र राम्रो हस्पिटालिटीले आफूहरूलाई आकर्षित गरेको बतायो ।

अर्का खेलाडी फतिमा जयनाले आफू १० वर्षअघि काठमाडौँ आएको अनुभव सुनाउँदै पोखरा र काठमाडौं तुलना नहुने शहर भएको बताइन् । ‘काठमाडौंमा बिल्डिङ नै बिल्डिङ मात्र देखेका थियौँ, तर पोखरा ताल र माउन्टेनको दृश्यले निकै लोभ्यायो, निकै सुन्दर लाग्यो पोखरा,’ बिचभलिबलका खेलाडी जयनाले काठमाडौंमा भएका साथीलाई पनि पोखरा आउन आग्रह गरेको बताए ।

rss