तीन मन्त्रीको सुरक्षा खतरा !

तीन मन्त्रीको सुरक्षा खतरा !


नेपाल सरकारका केही मन्त्रीहरू सुरक्षा खतरामा परेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डनिकटका मन्त्रीहरूलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको बुझिएको छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल ‘टार्गेट’मा परेको सूचना सरकारी संयन्त्रले पाएको हो ।

सुरक्षा निकायले विप्लव नेतृत्वको नेकपा मन्त्रीहरूको हत्या गर्ने योजनामा रहेको सूचना सरकारलाई दिएको छ । तर, विप्लव नेतृत्वको नेकपा नै यस्तो योजनामा रहेको पुष्टि भने कतैबाट पनि हुन सकेको छैन । यद्यपि शङ्कास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । मन्त्रीको हत्या योजनामा संलग्न हुन सक्ने ठानिएका अन्य केहीको खोजी भइरहेको बुझिएको छ ।

मन्त्रीहरूमध्ये सबैभन्दा बढी खतरा गोकुल बाँस्कोटालाई रहेको निचोडमा सुरक्षा संयन्त्र पुगेको बुझिए पनि खतरामा रहेकाहरूको सुरक्षाका निम्ति कुनै ठोस पहल लिएको पाइएको छैन । हमलाका योजनाकाहरू विप्लव समूहसम्बद्ध भनिए तापनि अरू नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्नो गतिविधि सञ्चालन गरेको हुन सक्ने पनि ठानिएको छ ।