भारतमा गैरमुस्लिम विदेशीलाई नागरिकता दिने विधेयक स्वीकृत, विपक्षीको विरोध

भारतमा गैरमुस्लिम विदेशीलाई नागरिकता दिने विधेयक स्वीकृत, विपक्षीको विरोध


भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।

प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नुपरेका गैरमुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिएका हुन् । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरू मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्रीसहित धेरै राजनीतिक नेताहरू र अधिकारकर्मीहरूसँग छलफल गरेका थिए ।

भारतीय राष्ट्रिय कंग्रेससमेतका विपक्षी दलहरूले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरूको भनाइ छ ।
रासस–एएनआई