गिद्ध बाबा !

गिद्ध बाबा !


■ अर्जुनराज पन्त

हल्लिएन पात त्यो पक्कै नलाइकन हावा
लाजैलाग्दा बापत कान्ड अनेक थरी बाबा

नव बुद्ध, अघोरी र सिद्ध अनेक थरी
थरी–थरी महिला कान्ड अहिले जगतभरि

सिद्ध हो कि गिद्ध हो त्यो बाबा नामधारी ?
तुलसी माला बोक्ने हातमा भक्तिनीका सारी !

आश्रम हो कि बेश्यालय कस्तो खालको कार्य ?
वर्षौंदेखि राशलीला कस्तो ब्रह्मचर्य !

कोही भन्छ बाल बुद्ध कोही भन्छ सिद्ध
रामनामीको खोल ओढेर बस्या हुन् कि गिद्ध !

गेरुधारी वस्त्र ओढी प्रचार भक्ति–भावको
सम्मोहनको जालमा पारी खेला रति–रागको !

कुन विद्याको सिद्धि हो त्यो क्यारी तिनले पाए ?
गरिखान गाह्रो भो’कि यस्तो जुक्ति लाए !

जोगी हुन् कि ढोँगी हुन् ती बाबा नामधारी ?
ठगी खान पल्किएका पृथ्वीका भारी !

नजानेको केही छैन सर्वज्ञै रे उनी
गाँजा तानी गफ् लडायो लगाइ शिव धुनी

भैंसी दानको विधिदेखि निःसन्तानको खोजी
गरेकै छ सबै कृत्य मान्छे रोजी–रोजी !

शक्ति केन्द्र रिझाएर जङ्गल कब्जा गरी
खडा गरी आश्रम त्यहाँ ग¥यो मनपरी !

जब पोल्छ असतीलाई पापले भित्र–भित्र
आशिस लिन्छन् त्यही बाबाको बनाइ ठूलो मित्र !

यस्तासँग आशिस लिँदा कस्तो मति आउला ?
सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला ?

गुरु त्यस्ता रै’छन् र पो शिष्य यस्ता भए !
राति–राति रक्सी बोकी काण्ड रच्न गए !

बोली–ब्यवहार ठ्याक्कै उल्टो कस्ता हुन् यी सिद्ध ?
फेर्दिउँ क्यारे नाम अब ‘सिद्ध’बाट ‘गिद्ध’ !