मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदै छ : प्रधानमन्त्री

मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदै छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत सोमबार प्रधानमन्त्री ओलीले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्न सक्ने तथा समाचारहरू हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अप्रत्याशित रूपमा त्यसैगरी आइलाग्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा इन्फेक्सन भएछ, त्यो बाहिर पनि फैलियो, त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपऱ्यो ।’

प्रधानमन्त्री ओलीले उपचारका लागि हप्ता–दश दिन लाग्ने भएको र स्वास्थ्यमा राम्ररी सुधार भइरहेको जानकारी दिँदै भने, ‘एउटा मेजर अपे्रनपछि तपाईंहरू देखिरहनुभएको छ, म उठेर बोल्न सक्ने, साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्री ओलीले आफूले आइतबारको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को उदघाटन समारोह आइप्याडमा हेरेको उल्लेख गर्दै भने, ‘मैले १३औँ ‘साग’को उदघाटन समारोह पनि पूरै हेरेँ, हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुशी लाग्या छ, म राष्ट्रपतिज्यूलाई उदघाटन गरिदिनुभएकोमा, अरू सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु ।’ उनले मैत्रीपूर्ण खेलबाट देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली एवं सार्क क्षेत्रका खेलाडी सबैलाई आग्रह पनि गरेका छन् ।
rss