छाउगोठमा युवतीको मृत्यु

छाउगोठमा युवतीको मृत्यु


सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गएराति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोठमै १४ महिलाको मृत्यु भइसकेको छ ।

यसैगरी, भरतपुर महानगरपालिका–२९ खहरे पुलनजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारू रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारूलाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारूको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
rss