एनआरएनए रुपान्तरणबारे बेल्जियममा बहस

एनआरएनए रुपान्तरणबारे बेल्जियममा बहस


■ डिल्ली अम्माई, बेल्जियम

एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा सोही संस्थाका केन्द्रिय उपाध्यक्ष डाक्टर बद्री केसीलाई एक औपचारिक समारोहका बीच सम्मान गरिएको छ । अन्तरक्रियात्मक स्वरुप दिइएको सम्मान कार्यक्रममा एनआरएनएको रुपान्तरण कसरी सम्भव छ भन्नेबारे बहस भएको थियो ।

बहसको सञ्चालन गर्दै एनआरएनए बेल्जियमका महासचिब तिर्थ धमलाले प्रतिक्रिया र जिज्ञासा राख्न उपस्थित एनआरएनहरूलाई समय उपलब्ध गराएका थिए ।

छलफलमा उठेका प्रतिक्रियाबारे कार्यक्रमका प्रमुख वक्ता डाक्टर केसीले संगठनको तर्फबाट आफ्ना धारणा राखे । एनआरएनएले अहिलेसम्म गरेका लगानी, परोपकारी कार्य र नेपालको पर्यटन प्रवर्धन लगायतका क्षेत्रमा गरेका अनगिन्ती प्रयासहरूलाई प्रचार गर्नुपर्ने बताए । उनले सेवामुलक लगानी, उत्थानउन्मुख च्यारिटी र पहिचानउन्मुख समृद्धिले संस्थागत रुपान्तरणमा ठूलो भूमिका खेल्ने बताउँदै संस्थाको आधारमा सहुलियत लिएर खोलिएका विभिन्न गरआवासीय इन्स्टिट्यÞूटहरू माताहतमा ल्याइनु पर्ने तर्क गरे ।

गैरआवासीय संघको निक्षेपमा बनिसकेका र बन्दै गरेका विभिन्न प्रोजेक्टहरूमा जोडिन चाहनेहरूले त्यसको विश्वसनियताको आधार हेरेर मात्र लगानी गर्न उनले सुझाए ।

त्यस्तै, अर्का विशिष्ट अतिथि वक्ता एनआरएनएका केन्द्रिय सहकोषाध्यक्ष लोक दाहालले रसियाबाट बेल्जियम आएका केन्द्रिय उपाध्यक्षलाई सम्मान गर्दै संस्थामा हुर्किंदै गरेका अराजकता, अनुसासनहीनता, अपारदर्शिता र बेथितिहरूको विरुद्ध सर्वप्रथम नीतिहरूलाई ब्यवस्थित गर्दै कार्यान्वयनमा लगिनु आवश्यक रहेको बताए ।

संस्थागत लक्ष्यहरू प्राप्तिको लागि सोअनुकुल विधान र कार्यशैलीको रुपान्तरण आवश्यक रहेको उनको भनाई थियो । उनले सबै एनआरएनलाई आफ्ना कुराहरू पारदर्शी बनाउँदै संस्थागत हितका निश्कर्षहरू छलफलमा ल्याउन निर्देशन समेत दिए ।

सम्मान तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनएका निवर्तमान अन्तर्राष्ट्रिय महिला संयोजक रजनी प्रधान, निवर्तमान युरोप संयोजक शिव बरुवाल, संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, बेल्जियमकी निवर्तमान महिला संयोजक हरि भट्टराई, पत्रकार ओम शर्मा, उपाध्यक्ष खड्क केसी, कोषाध्यक्ष प्रकाश गिरि, सदस्य सरस्वति सुवेदी लगायत अधिकांश अभियन्ताहरुको उपस्थिति रहेको थियो ।