अनुदानको मलले जिल्ल्याएपछि कृषक मारमा

अनुदानको मलले जिल्ल्याएपछि कृषक मारमा


■ श्याम क्षेत्री, कपिलवस्तु

धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्वारा अनुदानको मल बिक्री वितरण हुँदै आएको छ ।

मलको लागि हामीलाई धेरै समस्या परेको, नेपालमा दुई हजार–२२ सयमा पाइने मल भारतबाट २८ सयमा किनेर ल्याएको कपिलवस्तु नगरपालिका कृषक जनार्दन यादवले बताए । भारतबाट ल्याएको मलको बोरीमा १८, ४६ लेखे पनिभित्र २०, २०, ० राखेर बिक्री वितरण गरेको उनले बताए । कृषक यादवले भने नेपालमा मल नपाएर खेती गर्न समस्या परेको बताए ।

गहुँ छर्ने बेलासम्म पनि डीएपी मल नपाएको भन्दै कृषक हरिराम यादवले कहिले मल पाउने र कहिले गहुँ छर्ने, खेतीको अवस्था दिनदिनै पछडि परेको बताए ।

युरिया चाहिने बेलामा डीएपी र डिएपी चाहिने बेलामा युरिया मल आउने गरेको कृषकहरूको गुनासो छ । गहुँको खेती गर्ने बेलामा डीएपी मल आवश्यक पर्दछ तर डीएपी नआएर युरिया मल आएको र हामी मल लिन कि त भारत जानुपर्ने समस्या रहेको कृषक हरिश चन्द्र बरईको गुनासो छ ।

अहिले कपिलवस्तुका किसानहरूलाई डिएपी मलको एकदमै आवश्यक पर्ने बेला भइसक्यो, गहुँ खेति गर्ने बेला भइसके पनि कृषि सामग्रीसँग डिएपी मल छैन, युरिया मल मात्र रहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख दिनेश शर्माले बताए ।

उनले भने यस्तै समस्या युरिया र डीएपी मलको धान खेती गर्ने बेलामा भएको र अहिले पनि यस्तै समस्या दोहरिएको बताए । मलको लागि अहिले १५ देखि २० दिनसम्म किसानलाई मलको लागि कुर्नुपर्ने प्रमुख शर्माले बताए ।

जिल्लामा गहुँखेतीको लागि पाँच हजार मेट्रिक टन युरिया र डिएपी लग्ने गरेको छ । यहाँ वार्षिक रूपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । कपिलवस्तुमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरीद गर्नुपरेको किसानको दुखेसो छ ।

फोटो : भारतीय बजार पुर्निहवाबाट मल ल्याउँदै