पर्वतका दुई सहकारीले गराए कल्पनाको उठिबास

पर्वतका दुई सहकारीले गराए कल्पनाको उठिबास


■ गोपाल जिसी, पर्वत

कुश्मा नगरपालिका वडा नं ६ की कल्पना विश्वकर्माले पर्वतका दुई सहकारीबाट ऋण लिइन् । आफै शेयर सदस्य रहेको कुश्मा–६ स्थित सदाबहार विश्वास कृषि सहकारी संस्था लि. बाट २० लाख र ऋणी सदस्य रहेकी कुश्मा–५ स्थित सिताराम कृषि सहकारी संस्थाबाट १० लाख रुपैयाँ उनले ऋण लिएकी थिइन् ।

२०७३ साल ६ महिना १८ गते सदरमुकाममा रहेको २२९६ नं कित्ताको घडेरी जग्गा धितो राखि लिएको २० लाख रुपैयाँको साँवा ब्याज तिर्दै आएकी विश्वकर्मालाई सहकारीले ऋण तिर्न मानसिक दबाब दिँदै आयो ।

सहकारीबाट जग्गा धितो राखी २० लाख ऋण लिंएकी विश्वकर्माले ऋण लिँदा सही छाप लगाएको तमसुक, त्यसपछि बारम्बार थप भएका तर नच्यातिएका तमसुक र सहकारीलाई दिएको ब्ल्याङ्क चेकले अहिले उठीबास लगाएको ऋणी कल्पना विश्वकर्माले बताइन् ।

यता १० लाख ऋण उपलब्ध गराएको सिताराम सहकारीले पनि सोच्दै नसोचेको जालसाजपूर्ण कार्य गरेको ऋणी कल्पनाको गुनासो छ । सिताराम कृषि सहकारी संस्थाले पनि संस्थामा सहीछाप लगाएको दुईवटा तमसुकको दुरुपयोग गर्दै एउटा व्यक्ति र अर्को सहकारीका नाममा तमसुक बनाएर ११ लाख ऋण तिर्न मानसिक दबाब दिएको उनको भनाई छ ।

‘ऋण लिँदा संस्थाको नियम भन्दै बजारी तमसुकका दुईवटा लिफामा सही छाप लगाएको र ऋण तिर्दा एउटै ऋण दुईवटा साहु बनेर आएपछि झनै पीडित बनेकी छु’, विश्वकर्माले भनिन्– ‘सिताराम कृषि सहकारी संस्थाबाट १० लाख ऋण लिँदा ब्ल्याङ्क चेक समेत दिएकीले झनै अप्ठ्यारोमा परेकी छु ।’

विश्वकर्माले ऋण लिँदाका बखत दुवै सहकारीलाई खाली चेक दिएको र उक्त चेकको आडमा नक्कली ऋण बनाइदिने भन्दै धम्की समेत आएको उनको दुःखेसो छ ।

सहकारीबाट लिएको ऋणको चर्को ब्याज र हर्जनाले सडकमा पुगेकी ऋणी कल्पना विश्वकर्माले अहिले सदाबहार विश्वास कृषि सहकारी संस्था लि.लाई २७ लाख र सिताराम कृषि सहकारी संस्थालाई ११ लाख बढी रकम तिर्नुपरेको छ ।

सदावहार विश्वास कृषि सहकारीको ऋण लिँदा धितो राखेको जग्गा सोही सहकारीले ग्राहक खोजी बिक्री गरिदिएको र सहकारीलाई तिर्नुपर्ने सबै रकम ग्राहकले तिरिदिँदा पनि ऋणीले नबुझाएको भन्दै मुद्दा मामिलामा लागेको विश्वकर्माले बताइन् ।

सहकारीमार्फत बनाइएका जालसाजपूर्ण ऋणले आक्रान्त बनेकी विश्वकर्माले सहीछाप लगाएका तमसुकहरु पछि च्यातौँला, नष्ट गरौँला भन्दै आलटाल गरी अहिले तिनै तमसुक र खाली चेकको दुरुपयोग गरी सहकारी संस्थालाई नै बदनाम गर्ने कार्यसहित ऋणीलाई टाट पल्ट्याउने धन्दामा लागेको भन्दै आँशु झारिन् ।

यता सिताराम कृषि सहकारी संस्थाका प्रवन्धक कमल तिवारीले आफ्नो सहकारीले ऋणीको उठीबास लाग्ने गरी कुनै पनि काम नगरेको बताए । सहकारीको नियमानुसार ऋण लगेका ऋणीसँग नियमनुसार नै ऋण उठाउने गरेको उनको तर्क छ ।