सहकारीका कर्मचारीको मिलेमतोमा १२ करोड रकम हिनामिना

सहकारीका कर्मचारीको मिलेमतोमा १२ करोड रकम हिनामिना


■ नारद कोहार, तौलिहवा

जिल्लाको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कर्मचारीहरुबाट १२ करोड रुपैयाँ हिनामिना भएको छ ।

सहकारी संस्था लि.को करोडौँ रूपैयाँको ठगीको आरोपमा सहकारीका कार्यालय सहायक राजेश कान्दु पक्राउ परेका छन् । कान्दुलाई आदलतबाट आदेश लिई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।

कान्दुमाथि थप अनुसन्धान भइरहेको डिएस्पी मल्लले घटना र विचारलार्इ बताए ।

सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमुद बर्माको भनाई छ । २०७४ अषाढ २१ गते देखि २०७५ माघ २५ गते सम्मको ४ वटा ठेलीको हिसाव गर्दा कार्यालय सहायक कान्दुले यो रकम हिनामिना गरेको देखिएको छ ।

यस बाहेकको अन्य १० करोड रुपैयाँ ककसले हिनामिना गरेको छ वा हिसाबमा कता फरक परेको छ, त्यसको खोजीका लागि पुराना श्रेस्ताहरुको पुन चेकजाँच कार्य अघिबढाइएको अध्यक्ष रावलले बताए ।

यसैगरी सहकारीका बचत संकलक श्रवणकुमार गुप्ता (तेली) ले २७ लाख ६९ हजार २ सय ४३ रुपैयाँ हिनामिना गरेका छन् । बचत संकलक सुन्दरकेशव गुप्ताले १९ लाख ५ हजार ७ सय ६६ रुपैयाँ, संजीवन मान शाक्यले ३ लाख ३० हजार ६ सय रुपैयाँ, तिजु कुर्मीले ७१ हजार ९ सय ७८ रुपैयाँ र कमलेश बारीले ४ लाख ८२ हजार ५ सय ४९ रुपैयाँ गत भाद्र महिनाको हिसाब गर्दा हिनामिना गरेको देखिएको हो । यो हिसाबमा बचत संकलनकर्ता संजीवन मान शाक्य र तिजु कुर्मीले आफ्नो जिम्मामा देखिएको सवै बक्यौता रकम सहकारीमा जम्मा गरेको प्रमुख कार्यकारी अधिकृत बर्माले बताए ।

बचतकर्ताहरु श्रवण कुमार गुप्ता (तेली) र सुन्दर केशव गुप्ताले गरेको हिनामिना रकमलाई संस्थाले असुलउपर गर्न सजिलो होस् भन्नका केही नगद दाखिला गराएको र बाँकी रकम ऋणमा परिणत गरेको छ । बचतकर्ताहरुबाट संकलन गरिएको रकम बचत संकलनकर्ता र कर्मचारीले सहकारीमा दाखिला गर्नका साटो जग्गा र चर्को ब्याज दर आउने गरी लगानी गरेका छन् ।