डा. निर्मलमणिको ‘सञ्चार सिद्धान्तीकरण’ लोकार्पित

डा. निर्मलमणिको ‘सञ्चार सिद्धान्तीकरण’ लोकार्पित


प्राध्यापनसमेत गर्दै आउनुभएका पत्रकार डा. निर्मलमणि अधिकारीद्वारा लिखित पुस्तक ‘सञ्चार सिद्धान्तीकरण’को लोकार्पण गरिएको छ । पुस्तकको वरिष्ठ पत्रकारहरू डा. पियूषराज मिश्र, रामकृष्ण रेग्मी र श्रीरामसिंह बस्नेतले संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।

कार्यक्रममा मिश्रले लामो खोज र अनुसन्धानबाट प्रतिपादित सिद्धान्तले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रियता हासिल गर्ने बताउनुभयो । उहाँले लेखक अधिकारीले दैनिक जीवनमा सञ्चारले पारेको प्रभाव र सञ्चारसँग सम्बन्धित विभिन्न पक्षलाई उजागर गरेको बताउनुभयो ।

‘अधिकारीले प्रतिपादन गरेको सिद्धान्त विभिन्न भाषामा अनुवादित भएर प्रयोगमा आएको भन्ने सुन्न पाउँदा निकै खुशी लाग्यो’, उहाँले भन्नुभयो, ‘यो पुस्तक पत्रकारिता पढ्ने विद्यार्थी र पढाउने शिक्षकका लागि निकै उपयोगी छ ।’ रेग्मीले पुस्तक समसामयिक विश्वका लागि सान्दर्भिक रहेको भन्दै यसले नेपाली सञ्चार जगत्को विस्तार फैलाउनमा मद्दत गर्ने बताउनुभयो ।

बस्नेतले गहनअध्ययन र अनुसन्धानबाट तयार पारिएको पुस्तकको लेखन शैली पनि उत्तिकै उत्कृष्ट रहेको बताउनुभयो । पुस्तकमाथि टिप्पणी गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा सुदाम्सु दाहालले सिद्धान्तको प्रतिसिद्धान्त तयार नरहेसम्म सोही सिद्धान्तले नै निरन्तरता पाउने बताउनुभयो । ‘वैज्ञानिक आधारमा लेखकले पुस्तक लेख्नुभएको छ’, उहाँले भन्नुभयो, ‘यसले अरु अनुसन्धानलाई पनि मार्ग प्रशस्त गर्ने काम गरेको छ ।’

अर्का टिप्प्णीकार सुदर्शनप्रसाद दाहालले सञ्चार सिद्धान्तलाई विश्व समाजले अङ्गीकार गर्ने बताउनुभयो । ‘हाम्रो देशका विद्वानले प्रतिपादन गरेको सिद्धान्त पश्चिमा मुलुकका क्याम्पसमा अध्यापनको विषय बनाइनु राष्ट्रका लागि नै गर्वको विषय हो’, उहाँले भन्नुभयो ।

लेखक अधिकारीले प्रत्येक व्यक्तिले समाजका लागि योगदान गर्नसके मुलुकले विकासमा फड्को मार्ने बताउनुभयो । उहाँले आफूले जानेको र अध्ययन गरेको विज्ञतालाई विस्तार गर्नसके व्यक्तिसँगै राष्ट्रसमेत अघि बढ्ने जिकिर गर्नुभयो ।


rss