यसरी सम्पन्न भयो नेपाल-भारत समन्वय बैठक

यसरी सम्पन्न भयो नेपाल-भारत समन्वय बैठक


नेपाल र भारतका अधिकारीहरू सम्मीलित समन्वय बैठक शुक्रबार (६ मंसिर) सकिएको छ । गत बुधबारदेखि पोखरामा भएको उक्त नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरू तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।

तीन दिनसम्म सञ्चालित उक्त बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको एपीएफले जनाएको छ । नेपाल र भारतको सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो ।

बताइएअनुसार दुई देशका सुरक्षा प्रमुख स्तरमा हुने यस्ता समन्वय बैठकले दुवै देशका सुरक्षा निकायबीच सम्बन्ध विस्तार हुन मद्दत पुग्नुको साथै प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि यस्ता समन्वय बैठक फलदायी हुने छ ।

उक्त बैठकमा दुवै देशका अधिकारीहरूबाट हार्दिकतापूर्वक आफ्नो कुरा राख्दै सुझाव र अनुभवको आदानप्रदान गरेका थिए । सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदानप्रदान गर्ने निर्णय पनि बैठकमा भएको छ ।

यसैगरी सुचनाको आदानप्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकताअनुसार दुवै देशका सुरक्षा अधिकारीहरू सम्मीलित बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ । विभिन्न प्रकारका चार्डपर्वका अवसरमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मीलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ ।

सीमा व्यवस्थापनलाई मजवुद बनाइराख्न आवश्यकताअनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिँदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णय भएको छ ।

यस्तै, दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदानप्रदान गर्ने निर्णय भएको सो बैठकमा अन्तर्देशीय व्यावसायिक तालिमहरूमा दुवै देशका सुरक्षाकर्मीहरूको सहभागिता गराउने सहमति भएको छ । बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निग्रानी बढाउने सहमति पनि भएको छ ।

उक्त बैठकले पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज कुमार श्रेष्ठले जानकारी दिएका छन् ।