नुवाकोट र गोर्खामा आवास निर्माणका लागि तीन अर्ब १० करोड प्रदान

नुवाकोट र गोर्खामा आवास निर्माणका लागि तीन अर्ब १० करोड प्रदान


भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत ऋण व्यवस्थामार्फत ३ अर्ब १० करोड भारत सरकारको तर्फबाट नेपाल सरकारलाई प्रदान गरेको छ । नुवाकोट तथा गोर्खा जिल्लाका पचास हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण व्यवस्थामार्फत ५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेअनुसार उल्लिखित रकम उपलब्ध गराएको हो । यसका अतिरिक्त मित्रराष्ट्र भारतले यी घर निर्माणका लागि अनुदानस्वरूप सय मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

सम्बद्ध पक्षले जनाएअनुसार भारतले हालसम्म घरधनीहरूलाई पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरिकी डलर) प्रदान गरिसकेको छ । घरधनीहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुरूप भूकम्पप्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्न भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ । नेपालमा भूकम्पपश्चात्को पुनर्निर्माण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सरकारका प्रतिनिधिहरूको परिचयात्मक भारत भ्रमण

नेपालमा भूकम्पपश्चात्को पुनर्निर्माणमा भारत सरकारको प्रयासस्वरूप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरूका लागि यूएनडीपी (United Nations Development Programme) ले गत कात्तिक २६ देखि ३० गतेसम्म भारतको परिचयात्मक भ्रमणको आयोजना गऱ्यो । ‘भुज भूकम्प पुनर्निर्माण अनुभव’बाट केही सिकाउने उद्देश्यले स्थानीय प्रतिनिधिहरूका लागि यूएनडीपीको साझेदारको रूपमा रहेको ODRC (Owner Driven Reconstruction Collaborative of India)ले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो । दुई नगरपालिकाका मेयर, उपमेयर तथा ६ गाउँपालिकाका वडाध्यक्ष, उपाध्यक्षहरू उक्त भ्रमणमा सहभागी थिए ।

भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरूसँग नेपाली प्रतिनिधिहरूले भेटघाट गर्नुका साथै भुज भूकम्पपश्चात् अपनाइएका स्वनिर्माणका अभ्यासहरूको अवलोकन गरेको बताइएको छ । दिल्लीमा प्रतिनिधिहरूले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनस्र्थापना तथा अनुभवहरूबारे विस्तृत जानकारी लिएको बुझिएको छ ।

ज्ञातव्य छ, गोरखा जिल्लाको २६,९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्तरूप दिन यूएनडीपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरूलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनर्स्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पुनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न मार्ग प्रशस्त गर्ने सम्बद्ध पक्षले विश्वास लिएको छ ।