महराको निवेदनमा ‘कैफियत’ प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

महराको निवेदनमा ‘कैफियत’ प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश


जबर्जस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले शुक्रबार ‘कैफियत प्रतिवेदन मगाउने’ आदेश दिएको छ ।

महराको दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालतले आदेश दिँदाको आधार र सक्कल मिसिल पठाउन शुक्रबार आदेश दिएको हो ।

शुक्रबारको सुनुवाइ निवेदन दर्ता भएपछिको नियमित प्रक्रिया भएकोले जिल्ला अदालतले उच्च अदालतको आदेशअनुसारको प्रतिवेदन पठाएपछि मुद्दाको थप सुनुवाइ हुने बताइएको छ ।

पूर्वसभामुख महरा असोज १२ गते बेलुका तिनकुनेस्थित संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठमा पुगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा सरकारी निवासबाटै असोज १९ गते दशैँको अष्टमीको पक्राउ परेका थिए ।

महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएपछि उनी जिल्ला अदालतको आदेशविरुद्ध बिहीबार उच्च अदालत पाटन पुगेका थिए ।

हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन् ।