मन्त्री भट्ट भन्छन्– औद्योगिक विकासका लागि योजनाबद्ध रूपमा लाग्छु

मन्त्री भट्ट भन्छन्– औद्योगिक विकासका लागि योजनाबद्ध रूपमा लाग्छु


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताभएका छन् । पत्रकारसँग शुक्रबार चितवनमा कुराकानी गर्दै मन्त्री भट्टले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘उद्योगीहरूले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरूलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरूको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।’

उद्योग र श्रमिकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उनले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए ।

मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उदघाटन गर्न चितवन आएका हुन् ।