१३औं सागको ओलम्पिक टर्च सातै प्रदेश पुऱ्याइने

१३औं सागको ओलम्पिक टर्च सातै प्रदेश पुऱ्याइने


नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुऱ्याइँदै छ । ओलम्पिक टर्च ऱ्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले यसबारे जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं १३औँ दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भुमा आज (६ मंसिर) बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि ऱ्याली प्रारम्भ भएको छ ।

टर्च सातै प्रदेशका मुख्य शहरमा पुऱ्याइने अध्यक्ष श्रेष्ठले बताए । यसबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सागका कीर्तिमान म्याराथन पूर्वधावक बैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई साग भन्दा १३औं साग भब्य हुने बताए ।

पहिलो दिन ऱ्याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ ।

सोही दिन पोखराबाट टर्च काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

ऱ्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुने छन् ।