‘साग’ प्रतियोगिताको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री गम्भीर

‘साग’ प्रतियोगिताको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री गम्भीर


दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएकाले कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन् ।

प्रतियोगितालाई स्वच्छ, स्वस्थ र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत गृहमन्त्री थापाले सुरक्षा निकायलाई निर्देशन दिए ।

बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो । सो कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालनको खाका तयार पारिएको छ । खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको सम्बद्ध पक्षले जनाएको छ ।

बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारी सहभागी रहेका थिए ।