दलितको उपेक्षा गर्ने पुजारीविरुद्ध प्रहरीले उजुरी नलिएको आरोप

दलितको उपेक्षा गर्ने पुजारीविरुद्ध प्रहरीले उजुरी नलिएको आरोप


■ सनिउल्ला धोबी, कपिलवस्तु

दलितको घरमा पूजा गर्दिनँ भनी भागेका पुजारीविरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न नमानेको दलित आगुवाहरुले आरोप लगाएका छन् ।

गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घरमा पूजा लगाउन तयारी गरेपछि बहाना बनाएर भागेका पुजारीविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी दर्ता गर्न गएका दलित आगुवाहरु निरास भएर फर्किएका छन् ।

दलितको घरमा पण्डितले गरे पूजा बहिष्कार

मिलनले घरपूजा, सत्यनारायण पूजा र रुद्रीपुजा लगाउनका लागि चार नम्बर जितपुरबाट पण्डित भीमप्रसाद पोखरेललाई बोलाएका थिए । पण्डित पोखरेल घरभेटी दलित भएको जानकारी पाएपछि बहानावाजी गर्दै भागेका थिए । अर्का एक जना पण्डितको नाम नखुलेको जाहेरीमा उल्लेख गरिएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमसेर जबराले उजुरी दर्ता गर्न नमानेको पीडित मिलन विकले बताए । वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी लिएर पुगेका दलित आगुवाहरुलाई प्रहरी उपरीक्षक जबराले दर्ता गर्न नमिल्ने बताउदै आनाकानी गरेको पाइएको छ । मुद्धा दर्ता गर्न मिल्ने तर यस विषयमा केही छलफल परामर्श गरी जाहेरी दर्ता गर्ने जबराले बताएका छन् ।

दलित सामुदायका आगुवाहरु बिहीबार (५ मंसिर) बिहानैदेखि प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेको भए पनि प्रहरीले विभिन्न बहाना बनाई दलित समुदायलाई अपहेलित गरेको दलित अगुवा मीना परियारले बताइन् ।