सप्तरी काङ्ग्रेसभित्र बल्झिँदै विवाद

सप्तरी काङ्ग्रेसभित्र बल्झिँदै विवाद


■ हेमशंकर सिंह, राजविराज

नेपाली काङ्ग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टी र भातृ संगठनभित्र नयाँ–नयाँ विवादहरू बल्झिन थालेको छ ।

पार्टीको संस्थापन पक्षले जिल्लामा तरुण दलको आधिकारिक कमिटी नै नरहेको र घनानन्द यादवको नेतृत्वमा रहेको नेवि संघ आधिकारिक रहेको दाबी गर्दै गर्दा असंतुष्टहरूले भने ति कमिटी आधिकारिक नरहेको दाबी गरेका छन् ।

पार्टीको संस्थापन पक्षको नेतृत्व पार्टी सभापति दिनेशकुमार यादवले गरिरहेका छन् भने असन्तुष्ट पक्षको नेतृत्व संघीय सांसद तेजुलाल चौधरीले गरिरहेका छन् ।

नेपाली काङ्ग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा बिहीबार पार्टी सभापति दिनेशकुमार यादवले पत्रकार सम्मेलन गरी केन्द्रिय प्रतिनिधि रामकुमार खत्रीको उपस्थितिमा सम्पन्न जिल्ला अधिवेशनवाट घनानन्द यादवको अध्क्षतामा गठित कमिटी नै कायम रहेको स्पष्ट पारेका छन् । यादव नेतृत्वको कमिटीको पदावधि सकिए पनि जिल्ला अधिवेशन हुन नसकेका कारण सोही कमिटी यथावत रहेको उनले जिकिर गरे ।

यता संघीय सांसद तेजुलाल चौधरीको गुटमा रहेका पार्थो सरकार नेवि संघको सभापति र सिताप्रसाद यादव तरुण दलको आधिकारिक सभापति रहेको उनीहरूले दाबी गरेका छन् । सांसद चौधरी, संघीय सांसद नमिता चौधरी सभासद समेत रहीसकेका नेवि संघका पूर्वसभापति रञ्जीत कर्णलगायतले विज्ञप्ति जारी गरी नेवि संघ केन्द्रिय कार्यालयको गत २०७५ माघ ९ गते र तरुण दल केन्द्रिय कार्यालयको २०७६ भाद्र २४ गतेको पत्रअनुुसार सरकार र यादव क्रमशः नेवि संघ र तरुण दलको सभापति रहेको दाबी गरेका छन् ।

यता संस्थापन पक्षले आधिकारिक भन्दै आएको नेवि संघका सचिव विजयकुमार यादवले फर्जी रुपमा नेवि संघ सप्तरीको सभापति भन्दै कमिटी विस्तारको भ्रम छर्दै आएका पार्थो सरकारलाई नेवि संघको साधारण सदस्यताबाट समेत निष्कासन गरिएको जनाएका छन् ।

२०७५ माघ २९ गते सम्पन्न पार्टीको केद्रिय समितिको बैठकले त्यसअघि नेवि संघ सभापति, पदाधिकारी वा सदस्यहरूबाट भएका विभिन्न मनोनयन तथा निर्णयहरू बदर गर्ने निर्णय गरेकाले पार्थो सरकार नेवि संघको सभापति नरहेको संस्थापन पक्षले जिकिर गरेको छ ।

सांसद चौधरीद्वारा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना

यसैबीच संघीय सांसद तेजुलाल चौधरीले सप्तरीको सदरमुकाम राजविराजस्थित रुपनी रोडमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

पार्टी सभापति दिनेशकुमार यादवको क्रियाकलापबाट असंतुष्ट रहेका पार्टीका नेता कार्यकर्ताको एक भेला बीच उनले सम्पर्क कार्यालयको शुभारम्भ गरेका छन् ।

पुराना नेताहरूको सम्मान, सरकारी कार्यालयमा आउने समस्याको समाधान, पार्टीभित्रको समस्या समाधानसँगै पार्टीको संगठन सुदृढीकरणका लागि सम्पर्क कार्यालय स्थापना गरिएको सांसद चौधरीले बताए ।

आगामी महाधिवेशन जसरी पनि आफ्नो पक्षमा पार्न, पार्टीभित्रका योग्य र सक्षमलाई स्थान दिनुका साथै त्यस्ता ब्यक्तिलाई पार्टीमा प्रवेश गराउन निर्देशन समेत उनले दिए ।

राजपाको निम्ति भोट माग्दै हिँडेको आरोप

सोही भेलाका सहभागीहरूले भने सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक वडाअध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा पार्टी सभापति यादवले राजपा उम्मेदवारको भोट मागिरहेको आरोप लगाएका छन् ।

महाधिवेशन प्रतिनिधि उमेशकुमार मिश्राले आफ्ना उम्मेदवारको साटो पार्टी सभापतिले राजपा उम्मेदवारको लागि मत मागिरहेको आरोप लगाए । उनले भने– ‘जित्ने अवस्था थिएन भने पार्टीले कमजोर उम्ेमदवार किन खडा गर्यो, अरुसँग तालमेल किन गरेन ?’ यही मुद्धालाई अघि सारेर अनुशासनको कारवाही गराउन पार्टीका केन्द्रिय नेताहरू उपर दबाब बनाउनसमेत उनले सुझाए ।

वडाअध्यक्ष पदका आकाङ्क्षी रहेका उदयनाथ मंण्डलले पार्टीभित्रको गुट–उपगुटका कारण आफुलाई टिकट नदिएर पार्टीअध्यक्षले राजपको मत मागिरहेको आरोप लगाए ।

जिल्ला सभापतिका प्रत्यासी रामदेव साहले सभापति यादवले जिल्लामा गुट–उपगुटको राजनीति शुरु गरेको आरोप लगाउँदै समानान्तर पार्टी कार्यालय खोल्ने पूर्वाधारको रुपमा सांसद चौधरीले खोलेको सम्पर्क कार्यालय खोलिएको बताए ।

सांसद चौधरीले भने उपनिर्वाचनमा उममेदवार भएकालाई जिताउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।