उसुमा १० स्वर्ण हात पर्ने दाबी

उसुमा १० स्वर्ण हात पर्ने दाबी


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उसुले १० स्वर्ण पदक जित्ने दाबी संघका पदाधिकारीले गरेका छन् । यतिबेला उसु खेलका खेलाडी उत्कृष्ट लयमा रहेको र प्रतिद्वन्द्वी भारत, पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै १० स्वर्ण पदक जित्ने दाबी गरेका हुन् ।

१३औँ सागमा उसुतर्फ २२ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । थाउलो र सान्सौगरी दुई विधामा २२ स्वर्णका लागि हुने भीडन्तमा सहभागी राष्ट्रले १७ इभेन्टमा प्रतिस्पर्धा गर्न पाउने छन् । नेपालको तर्फबाट उसुमा १२ पुरुष र १० महिलाले सहभागिता जनाएका छन् ।

उसु खेलतर्फ १३औँ सागमा नेपालको सबैभन्दा बलियो प्रतिद्वन्द्वी भारत भएको संघका महासचिव ल्हाक्पा छिरिङ लामाले बताए । भारत बलियो प्रतिद्वन्द्वी भए पनि यसपटक नेपाली खेलाडीले भारतको चुनौती समाप्त पार्दै स्वर्ण पदक जित्ने महासचिव लामाले दाबी गरे ।

अन्य राष्ट्रमा पाकिस्तान र श्रीलंकाले पनि नेपाललाई चुनौती दिने सक्ने सम्भावना बलियो भएको लामाले स्वीकारे । र पनि, यतिबेला नेपाली खेलाडीले विश्व उसु च्याम्पियनसीपमा जुन उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् त्यसलाई मध्यनजर गर्दा पाकिस्तान र श्रीलंकालाई नेपाली खेलाडीले सहजै किनारा लगाउने प्रस्ट पारे ।

उसु खेलमा १३औँ सागमा सम्भावित स्वर्ण पदक विजेता खेलाडीहरूमा दीपक हमाल, विजय सिंजाली, निमा घर्तिमगर, हरिप्रसाद गोले, सुस्मिता तामाङ, जुनी राई, अमर सुनार र पदम राई लगायतका खेलाडी रहेको संघका अध्यक्ष बीरबहादुर तामाङले बताए । अन्य खेलाडीहरूको स्तर पनि उत्कृष्ट रहेकोले खेलमा जे पनि हुन सक्ने सम्भावना रहेको अध्यक्ष तामाङले खुलासा गरे ।

सम्भावित स्वर्ण पदक विजेता खेलका खेलाडी यतिबेला वैदेशिक प्रशिक्षणमा छन् । तर उसु खेलले यस्तो संज्ञा पाए पनि उसु खेलका खेलाडीहरु नेपालमै प्रशिक्षण गरिरहेका छन् । राष्ट्रलाई आर्थिक भार नपारी स्वदेशमै प्रशिक्षण गरिरहेका उसु खेलाडीले यदि १३औँ सागमा १० स्वर्ण पदक जिते भने त्यो उसु खेलको मात्र नभै नेपालकै लागि ऐतिहासिक उपलब्धि हुनेछ ।