पोखरा रङ्गशालाको प्यारापिट धमाधम जोडिँदै

पोखरा रङ्गशालाको प्यारापिट धमाधम जोडिँदै


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सो कुरालाई मध्यनजर नजर गर्दै मंसिर ४ गते बुधवारदेखि पोखरा रङ्गशालामा प्यारापिट जोड्ने कार्य शुभारम्भ भएको छ ।

निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि मात्रै पोखरा आइपुगेको हो । मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने जानकारी दिए ।

‘मंसिर १ गते आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ म्यानेजर बरालले भने, ‘५ दिनभित्र तयार हुने यो प्यारापिट ३८ सय क्षमताको हुनेछ ।’ उनले प्यारापिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए ।

खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो मंसिर ४ गते बुधबार साँझ पोखरा आई पुगेको ५ गतेदेखि फेर्न सुरु गर्नेसमेत बरालले जानकारी दिए । मैदानभित्र पर्ने सिन्थेटिक एथलेटिक ट्रयाकको कार्य समेत यतिवेला धमाधम निर्माण भैरहको छ । उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ । ‘रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ । बाँकी काम पनि केही दिनभित्रै पुरा हुन्छ,’ उनले भने ।

१३औँ सागका समावेस खेलहरुमा पोखरामा ट्रायथालन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन छन् । सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।