प्रधानमन्त्रीको उपचार नेपालमा नभए चीनमा !

प्रधानमन्त्रीको उपचार नेपालमा नभए चीनमा !


प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुग्नुभएपछि उहाँको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयलाई लिएर पार्टीभित्रका हितैषी तथा पारिवारिक सदस्यहरूबीच गम्भीर छलफल प्रारम्भ भएको छ । अमेरिकास्थित नेपालका कामचलाउ राजदूत अर्जुन कार्कीलगायत अमेरिकी लवीका व्यक्तिहरू केपीलाई उपचारका लागि अमेरिका पुऱ्याउने कसरतमा छन् । ओलीका निजी चिकित्सक दिव्य सिंह यसैबारे स्थिति बुझ्न अमेरिका पुगेर फर्किएकी छिन् भने सल्लाहकार राजन भट्टराई पनि यही प्रयोजनका निम्ति अमेरिका पुगेको बताइन्छ ।

तर, ओलीका खास हितैषीहरू भने अमेरिका उपचार गराउने पक्षमा छैनन् । यासेर अराफातलाई झैँ मन्द विष दिइनसक्ने आशङ्का गर्दै ओलीको उपचार नेपाल, चीन या सिङ्गापुरमै हुनुपर्नेमा निकटवर्तीहरूले जोड दिएका छन् । ओलीलाई उपचारका निम्ति बेइजिङ आउन चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल भ्रमणमा आएका बेला अनुरोध गर्नुभएको थियो । त्यसैले उपचारका लागि चीन जाने या नेपालमै विशेषज्ञहरूको टोली झिकाउने भन्ने विषयले यतिबेला मूख्य प्राथमिकता पाएको छ ।

पहिलेदेखि नै सिङ्गापुर जाने गरिएकोले त्यहीँ जानु उपयुक्त हुने सुझाव पनि ओलीका केही निकटवर्तीहरूले दिएका छन् । तथापि ओलीले बेइजिङ गएर उपचार गराउने या नेपालमै विशेषज्ञ झिकाएर उपचार गर्ने सम्भावना बढी छ । यद्यपि अर्जुन कार्कीहरूले ओलीलाई अमेरिका पुऱ्याउन सम्पूर्ण प्रयास गरिरहेका छन् । कार्कीहरूले गरेको जोडदार प्रयासले पनि ओलीलाई उपचारका निम्ति कुनै हालतमा अमेरिका पुऱ्याइन नहुने सङ्केत दिइरहेको छ । नेपाल या चीन जहाँ भए पनि आगामी एक महिनाभित्रै उपचारको प्रक्रिया थालिने जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।