ओलीविरुद्ध फेरि मोर्चा कस्दै प्रचण्ड

ओलीविरुद्ध फेरि मोर्चा कस्दै प्रचण्ड


प्रधानमन्त्री केपी शर्मा ओलीको मोर्चा कमजोर तुल्याउन प्रचण्डको सक्रियता फेरि बढेको छ । ओलीको स्वास्थ्यस्थिति नाजुक बनेको ठानेर केही दिन ‘धैर्यवान’झैँ देखिनुभएका प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएसँगै ‘तिकडम’ शुरु गर्नुभएको पाइएको छ ।

माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालको साथ मिल्दा आफू केपीलाई पछार्न समर्थ बन्ने विश्वासमा प्रचण्ड हुनुहुन्छ । माधव नेपाल आफ्नो पक्षमा नआए पनि केपीका विरुद्ध राम्रैसँग प्रयोग हुन सक्ने विश्लेषणका आधारमा प्रचण्डले माधवलाई केपीविरुद्ध भड्काउने काम गर्दै आउनुभएको छ । माधवलाई केपीले पनि भेटेर लामो लार्तालाप गर्नुभएको छ । आफूलाई सहयोग गरे भविष्यमा आफ्नोतर्फबाट पनि सहयोग रहने भन्दै केपीले गत साता माधवकुमार नेपाललाई प्रचण्डसँग नबहकिन चेतावनी दिनुभएको बुझिएको छ ।

वास्तवमा माधव नेपालमाथि केपी र प्रचण्ड दुवैले विश्वास गरेका छैनन्, दुवै नेताबाट माधवलाई ‘न्युट्रलाइज्ड’ गर्ने काम मात्र हुँदै आएको छ । तर, वामदेव गौतमलाई केपीबाट भड्काउन भने प्रचण्ड एकपटक फेरि सफल हुनुभएको छ । केपी ओली वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा राजी हुनुहुन्न भन्ने पूर्ण विश्वासमा रहेका प्रचण्डले गत आइतबार (मङ्सिर १ गते) सम्पन्न सचिवालय बैठकमा वामदेव गौतमजीलाई प्रधानमन्त्री बनाउन संविधानमा संशोधन गर्नुप¥यो, उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने र भविष्यमा प्रधानमन्त्री पनि बनाउने गरी आवश्यक प्रक्रिया अवलम्बन गर्नुप¥यो भनी प्रस्ताव राख्नुभएको थियो । प्रचण्डको प्रस्तावबाट प्रसन्न हुनुभएका वामदेवले ‘लौ प्रचण्ड कमरेडबाट स्पष्ट कुरा आयो, यसमा प्रधानमन्त्रीज्यूको राय के छ’ भनी प्रतिक्रिया माग्नुभएको थियो ।

वामदेवको जिज्ञाशा मेट्दै केपी ओलीले ‘प्रचण्ड कमरेडको प्रस्तावमा आफ्नो पनि सहमति रहेको’ धारणा बैठकमा राख्नुभएको थियो । यसरी केपीले आफ्नो प्रस्तावमा सहमति जनाउँदा प्रचण्ड छक्क पर्नुभएको बताइन्छ । उहाँले वामदेवलाई छोप्न अर्को जाल हान्नुभएको बुझिएको छ । बैठकमा सहमत भए पनि पछि ‘वन टु वन’ वार्ताका क्रममा केपीले वामदेवका निम्ति संविधान संशोधन हुन नसक्ने भनी आफूलाई बताएको भनेर प्रचण्डले वामदेवलाई सुनाइदिनुभएको बुझिएको छ । आफ्नो विश्वासप्राप्तहरूसमक्ष वामदेवले केपी विश्वासघाती भएको टिप्पणी गर्न थाल्नुभएको छ ।

यसरी केपीको टीकाटिप्पणी गर्दा गौतमले आफूलाई प्रचण्डले सुनाएको कुरा पनि उद्धृत गर्ने गर्नुभएपछि केपीविरुद्ध प्रचण्डले वामदेवलाई भड्काउन सफल भएको सङ्केत गौतमका निकटस्थहरूले पाएका छन् । उक्त सचिवालय बैठकमा प्रचण्डले रामबहादुर थापा बादललाई उपप्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव पनि राख्नुभएको थियो । पछिल्लो समय बादल र केपीबीच बन्दै गरेको मधुर सम्बन्धमा प्रचण्डको प्रस्तावले आशङ्का बढाउने ठानिएको छ ।

यसबाहेक पार्टीका अन्य प्रभावशाली नेताहरूलाई भेटेर प्रचण्डले ‘तपाईंलाई मन्त्रिमण्डलमा समावेश गर्न कुरा गर्दा केपीले नमानेको’ भन्दै केपीविरुद्ध पार्टीभित्र बलियो जनमत बनाउने प्रयास गरिरहनुभएको छ । तर, उहाँको प्रयासले कस्तो प्रकारको परिणाम हासिल गर्न सक्ने हो सो भने यकिन भइसकेको छैन ।

आश्चर्यको कुरा त के छ भने केपी ओलीको खास मानिसको रूपमा चिनिएका महासचिव विष्णु पौडेलसमेत वामदेव गौतम र प्रचण्डसँग एक्लाएक्लै भेट गर्दा केपीका विरुद्ध प्रस्तुत हुन थाल्नुभएको छ । भीम रावल र घनश्याम भुसालहरूचाहिँ केपीको स्थायी शत्रु भएको विश्वासमा प्रचण्ड हुनुहुन्छ ।