तेक्वान्दो र करातेलाई इतिहास दोहोऱ्याउने अवसर

तेक्वान्दो र करातेलाई इतिहास दोहोऱ्याउने अवसर


■ श्रीविक्रम भण्डारी

आगामी मङ्सिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा सञ्चालन हुन गइररहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेक्वान्दो र कराते खेललाई इतिहास दोहोऱ्या उने अवसर प्राप्त भएको छ । नेपालले दोस्रोपटक आयोजना गरेको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै प्रतियोगितामै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले आठौँ साफमा तेक्वान्दो र करातेतर्फ समान १४–१४ स्वर्ण पदक जितेको थियो । त्यस्तै उक्त प्रतियोगितामा ३१ स्वर्ण पदक जित्ने क्रममा बक्सिङमा दुई र पौडीमा एक स्वर्ण जितेको थियो ।

भारतको गुहावटी र सिलोङमा सम्पन्न १२औँ सागमा तेक्वान्दोलाई समावेश गरे पनि करातेमा देखिएको आन्तरिक विवादले करातेलाई १२औँ सागमा समावेश गरिएको थिएन । परिणाम १२औँ सागमा कराते खेलाडी प्रतिस्पर्धा गर्नवाट वञ्चित भए । नेपालले स्वर्ण पदकको निकै आशा गरेको खेल तेक्वान्दो १२औँ सागमा समावेश भए पनि नेपाली खेलाडी उत्कृष्ट खेल प्रदर्शन गर्न चुकेका थिए । तेक्वान्दोका आठजना खेलाडी फाइनलमा पुगे पनि स्वर्ण पदक जित्न असफल भए । यसरी साग खेलकुदमा तेक्वान्दो खेलका खेलाडी पहिलोपटक स्वर्ण पदकविहीन बनेका थिए । साग खेलकुदमा तेक्वान्दो खेल स्वर्ण पदकविहीन बनेपछि त्यसबेला निकै आलोचनाको सिकार बन्नुपरेको थियो । यसर्थमा कि १२औँ सागमा नेपालले तेक्वान्दोतर्फ कम्तीमा पनि पाँच स्वर्ण पदक जित्ने अनुमान गरिएको थियो ।

अहिले तेक्वान्दो र कराते दुवैलाई १३औँ सागमा इतिहास दोहोउने अवसर प्राप्त भएको छ । साँचो रूपमा भन्नुपर्दा तेक्वान्दो र करातेलाई चिट्ठा नै परेको छ । सर्वप्रथम १३औँ साग नेपालमा हुँदै छ, दोस्रो यी दुवै खेलमा बलियो भारतले सहभागिता दिएको छैन । त्यस्तै, तेक्वान्दो र करातेमा अर्को बलियो राष्ट्र अफगानिस्तानको पनि सहभागिता छैन । यी दुई राष्ट्र भारत र अफगानिस्तानको अनुपस्थितिमा नेपालले सर्वाधिक स्वर्ण पदक जित्ने अनुमान गरिएको छ । यथार्थमा भन्नुपर्दा आठौँ साफमा २८ स्वर्ण जितेका यी दुवै खेलले १३औँ सागमा ३५ देखि ४० को हाराहारीमा स्वर्ण पदक जित्ने अनुमान अहिले गरिन थालेको छ । १३औँ सागमा तेक्वान्दोतर्फ २९ र करातेतर्फ १९ स्वर्ण पदकका लागि भिडन्त हुनेछ ।

१३औँ सागमा तेक्वान्दोको गेरोगीतर्फ पुरुष र महिला गरी १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । जसमा पुरुष र महिलातर्फ समान आठ–आठ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै तेक्वान्दोको पुम्सेतर्फ १३ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । यसैगरी करातेमा १९ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । जसमा पुरुष एकलतर्फ सात र महिला एकलतर्फ ६ खेल गरी १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै टिम कातातर्फ चार स्वर्ण र टिम इभेन्टमा २ स्वर्णका लागि भिडन्त हुनेछ ।

अहिले प्रश्न उठेको छ– के १३औँ सागमा तेक्वान्दो र करातेले आठौँ साफको कीर्तिमान तोड्लान्, के यो सम्भव छ ? खेलकुदमा अहिले यस्तै चर्चा चलेको छ । आठौँ साफमा तेक्वान्दो र करातेले २८ वटा स्वर्ण पदक जित्दा त्यतिबेला नेपाल मार्सल आर्टस्को पावरहाउस थियो । तर, अहिले बागमतीमा धेरै पानी बगिसकेको छ, मार्सल आर्टस्को क्षेत्रमा अहिले अन्य सार्क मुलुकहरूले धेरै प्रगति गरिसकेका छन् । उनीहरूको स्तर नेपालको स्तरको भन्दा कुनै कोणबाट कम छैन । जुन कुरालाई विगतमा अन्य मुलुकमा आयोजना भएका साग खेलकुदमा ती राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गरेर प्रमाणित गरिसकेका छन् । यस्तो अवस्थामा आफ्नै राष्ट्रले आयोजना गर्न लागेको १३औँ सागमा नेपाली खेलाडीले कस्तो प्रदर्शन गर्लान् त्यो अहिले चासोको विषय बनेको छ ।

आफ्नै घरमा आयोजना हुन लागेको १३औँ सागमा तेक्वान्दो र करातेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा दुईमत छैन । तर, नेपालले यी दुई खेलमा कति पदक जित्छ त्यो महत्वपूर्ण कुरो बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ सागमा नेपालले ५० वटा स्वर्ण पदक जित्ने दाबी गरेका छन् । सिलवालको दाबीलाई सफल पार्न तेक्वान्दो र करातेका खेलाडीले कम्तीमा पनि ३५ वटा स्वर्ण पदक जित्नुपर्नेछ । के यस्तो चमत्कार गर्न सक्लान् त तेक्वान्दो र करातेले ? उत्सुकताको विषय बनेको छ । बाहिर अड्कल र अनुमान जस्तो लगाए पनि तेक्वान्दो र कराते सङ्घका पदाधिकारीले अहिलेसम्म आफूले यति स्वर्ण पदक जित्छौँ भनेर कुनै सार्वजनिक घोषणा गरेका छैनन् । केवल १३औँ सागमा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरा मात्रै दोहो¥याइरहेका छन् । यस्तो अवस्थामा तेक्वान्दो र करातेको ४८ स्वर्ण पदक भिडन्तमा नेपालले कति स्वर्ण जित्ला भन्न सकिने अवस्था छैन ।

यी दुई खेलबाहेक नेपालले सर्वाधिक स्वर्ण पदक जित्ने खेलमा उसुलाई हेरिएको छ । नेपाल उसु सङ्घका अध्यक्ष वीरबहादुर तामाङले १३औँ सागमा उसु खेलका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण जित्ने दाबी गरेका छन् । हालै चीनमा सम्पन्न उसुको विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका उसु खेलाडीको प्रदर्शनबाट हौसिएका अध्यक्ष तामाङले साग पनि यस्तै प्रदर्शन दोहो¥याउने दाबी गरेका छन् । तामाङले भने, ‘हाम्रो टारगेट १० स्वर्ण पदक जित्ने हो, त्यसमा हामी खरो उत्रिने प्रयास गर्नेछौँ, तर खेल हो जे पनि हुन सक्छ, हामी १० भन्दा माथि पनि स्वर्ण पदक जित्न सक्छौँ ।’ साग खेलकुदको इतिहासमा उसु खेलको प्रदर्शनको चर्चा गर्दा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएको कसैबाट छिपेको छैन । यही कारणले उसुलाई सम्भावित स्वर्ण पदक जित्ने खेलको रूपमा हेरिँदै आएको छ ।

मार्सल आर्टसुमा जुडोलाई सम्भावित स्वर्ण पदक जित्न सक्ने खेलको रूपमा हिजो पनि हेरिएको थियो भने अहिले पनि छ । त्यो कुरालाई साग खेलकुदमा जुडो खेलका खेलाडीले जितेको स्वर्ण पदकले पनि प्रमाणित गर्छ । त्यस्तै, पावर गेमको रूपमा परिचित बक्सिङ पनि नेपालको लागि स्वर्ण पदकका लागि आसलाग्दो खेल हो । बक्सिङका खेलाडीले विगतका सागमा गरेको प्रदर्शन र जितेको स्वर्ण पदकले पनि यो कुरालाई पुष्टि गर्छ । उदाहरणका लागि बक्सिङका लिजेन्ट दलबहादुर रानामगरको नाम नै काफी छ । उनले पहिलो र दोस्रो साफमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । आठौँ साफमा पनि बक्सिङमा नेपाल दुईवटा स्वर्ण पदक जित्न सफल भएको थियो । त्यसपछिका सागमा नेपालले बक्सिङमा कुनै स्वर्ण पदक जित्न नसके पनि १३औँ सागमा भने स्वर्ण पदक जित्ने विश्वास गरिएको छ ।

यी खेलबाहेक एथलेटिक्स, फुटबल, भारोत्तोलनमा पनि नेपालले स्वर्ण पदक जित्ने विश्वास गरिएको छ । एथलेटिक्समा नेपालको स्तर खस्के पनि म्याराथनमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी यसका उदाहरण हुन् । तर, पछिल्लो समयमा म्याराथनमा पनि नेपाली खेलाडीले सोचेको जस्तो प्रदर्शन गर्न सकेका छैनन् । त्यस्तै, पुरुष फुटबलमा नेपालले साग गेममा अहिलेसम्म तीनपटक स्वर्ण पदक जितिसकेको छ । नेपालले १२औँ सागमा पनि फुटबलमा स्वर्ण पदक जितेको थियो । नेपालको यही प्रदर्शनले गर्दा १३औँ सागमा पनि फुटबललाई स्वर्ण पदकको दाबेदार मानिएको छ । त्यस्तै, महिला फुटबलले पनि साग गेममा उत्कृष्ट प्रदर्शन गर्दै आएकोले स्वर्ण पदकको दाबेदारको रूपमा हेरिएको छ । विगतका वर्षमा टेनिस, पौडी, आर्चरी, टेबुलटेनिस, कुस्तीमा पनि साग गेममा नेपालको प्रदर्शन उत्कृष्ट रहेकाले यसपटक स्वर्ण पदक जित्ने विश्वास गरिएको छ । समग्रमा भन्नुपर्दा १३औँ सागमा समावेश २७ खेलमा प्रायः सबैमा नेपालले पदक जित्नेछ भन्दा अतिशयोक्ति नहोला । किनकि १३औँ साग नेपालमा हुँदै छ ।