दलितको घरमा पण्डितले गरे पूजा बहिष्कार

दलितको घरमा पण्डितले गरे पूजा बहिष्कार


■ सनिउल्ला धोबी, कपिलवस्तु

कपिलवस्तुमा दलितको घरमा पूजा गर्दैनौँ भन्दै पुजारी भागेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माले निकै मेहनतका साथ बनाएको घरपूजा, सत्यनारायण र रुद्री पूजा गर्नका लागि तल्लीन अवस्थामा थिए । बिहानै घरको सरसफाई गरी चिटिक्क पारियो । आफन्तजन समेत घरमा आए । घरमा सबै एक ठाँउमा जम्मा भएका आफन्तहरु एकआपसमा खुशियाली साटासाट गरिरहेका थिए ।

घरको पुजा गर्ने ठाउँ समेत लिपपोत गरी सफासुग्घर बनाइएको थियो । घरको पूजा गर्न भनी तामझाम गरिएको अवस्थामा बिहान १० बजे पूजा गर्नका लागि पण्डित आए । पूजा गर्ने विधि सुरु हुनासाथ पुजारी अनेक बहाना बनाई पूजाघरबाट बाहिर निस्किए ।

एकैछिनमा आउँछु भन्दै पुजारी बाहिरिए, तर करिव १ घण्टा कुर्दा पनि पण्डित फिर्ता नआएपछि एकाएक पण्डित भागेको खबर बाहिर आयो । सम्बन्धित घरको एक सदस्यले ब्राह्मण पण्डितले दलितको घरमा पूजा गर्न हुँदैन भन्दै गएको बताए ।

पुजारी भागेपछि पूजा कार्य केही समय अलपत्र परेको थियो । पछि अर्कै पण्डित बोलाई पूजा कार्य विधिवत रुपमा सम्पन्न गरियो । यो घटना गत शनिबार भए पनि आज (मंगलबार) मात्र बाहिर आएको हो । पण्डित भीमप्रसाद आचार्य र गोविन्द भट्टराई पूजा स्थान छोडेर भागेको पीडितले बताए ।

पुजारी भाग्नु गलत कार्य भएको स्थानीय अगुवाहरुले बताएका छन् । अहिले मानव छुवाछुत अन्त्य भएको छ । यदि कसैले यस्तो घृणीत कार्य गर्छ भने कानुनी कार्वाही हुनुपर्ने चन्द्रौटाका मेनाज खानले बताए ।

नेपालमा छुवाछुत भेदभावलगायतको कार्य गर्नु कानुनविपरीत भए पनि अहिलेको अवस्थामा यस्तो हुनु निकै निन्दनीय कार्य मानिएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुनबमोजिम कार्वाही हुनुपर्ने रामनिवास पुरीले बताए ।

घरपूजा, सत्यनारायण पूजा र रुद्री पुजामा प्रदेशसभा सदस्य, नगरप्रमुख, वडाअध्यक्ष लगायतको सहभगितामै पण्डित भागेका थिए । सो घटनालाई समासुन पार्नका लागि यस कपिलवस्तुका उच्च ओहदाका व्यक्ति लागे पनि यस्तो घटनाले समाजमा नकारात्मक प्रभाव पारेको छ । यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कर्वाही हुनुपर्ने आम समुदायको माग रहेको छ ।