सरिफ उपचारका लागि एयर एम्बुलेन्सबाट लन्डन प्रस्थान

सरिफ उपचारका लागि एयर एम्बुलेन्सबाट लन्डन प्रस्थान


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ मंगलबार बेलायत प्रस्थान गरेका छन् ।

एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनी बेलायतको राजधानी लन्डन प्रस्थान गरेका हुन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आईसीयू) को व्यवस्थासहित उपचार भइरहेको थियो ।

तर, स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मंगलबार थप उपचारका लागि लन्डन लगिएको हो । जेल सजाय भोगिरहेका सरिफलाई जेलबाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमति दिएको थियो ।

तीनपटकसम्म देशको प्रधानमन्त्री भएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकले बताएका छन् । उनका चिकित्सकहरूका अनुसार सरिफले ‘जीवनसँग संघर्ष’ गरिरहेका छन् ।
उनलाई उपचार गर्न विदेश जान दिने कि नदिने भन्नेबारे लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुँदै गएकाले विदेश जान दिने अनुमति दिएको हो ।
रासस–एएफपी