नेपाल ट्रष्टको सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले दुर्व्यवहार गरेपछि…

नेपाल ट्रष्टको सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले दुर्व्यवहार गरेपछि…


भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको कित्ता नं ५४० को १०८ रोपनी दुई आना एक पैसा क्षेत्रफल जमिनको सुरक्षार्थ खटिएका सुरक्षा गार्डमाथि भक्तपुर नगरपालिकाले दुर्व्यवहार गरेको र पीडित सुरक्षा गार्डको प्रहरीले उद्धार गरेको सन्दर्भ यतिबेला चर्चामा छ ।

ट्रष्टले आफ्नो नाममा रहेको उक्त जग्गाको संरक्षण गर्ने भन्दै आइतबार (१ मंसिर) देखि अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा गार्र्ड राखेपछि भक्तपुर नगरपालिकाले सोमबार सुरक्षा गार्र्ड आशिष बमलाई कब्जामा लिएर नगरपालिकामा लगेर राखेको थियो । नगरपालिकाले खटाएका १६ जनाले बमलाई नियन्त्रणमा लिएर नगरपालिकामा दुई घण्टासम्म राखेको नेपाल ट्रष्टका सञ्चालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीलाई उद्धृत गर्दै राससले जनाएको छ । बमको प्रहरीले उद्धार गरेको ज्ञवालीले बताए । २४सै घण्टा सुरक्षा गार्ड तैनाथ गर्नेगरी ट्रष्टले गोरखकाली सेक्युरिटीका तीन सुरक्षाकर्मीलाई परिचालन गरेको थियो ।

यसरी सुरक्षा गार्डलाई नै नियन्त्रणमा लिएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानको पहलमा बमको प्रहरीले उद्धार गरेको बताइएको छ । सुरक्षाकर्मी परिचालनबारे नेपाल ट्रष्टसँग सोध्नुपर्ने नगरपालिकाले सुरक्षाकर्मीलाई नै उठाएर लैजानु गलत भएको प्रजिअ भट्टको धारणा छ ।

सरकारको नीतिअनुसार देशभर नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति संरक्षण गर्ने कार्य भएअनुसार भक्तपुरको उक्त जग्गामा पनि ट्रष्टले तीनतर्फ बोर्ड राखेर ताल्चा लगाई सुरक्षा गार्ड राखेको नगरपालिकाको आरोप छ ।

नगरपालिकाबाट आएका व्यक्तिले प्रमुखलाई नसोधी किन बोर्ड राखेर बसेको, नगरपालिकाको ताल्चा काटेर किन ट्रष्टले ताल्चा लगाएको भन्दै सुरक्षा गार्ड बमलाई अभद्र व्यवहार गरी जबर्जस्ती नगरपालिका लगेको ट्रष्टको प्रत्यारोप छ ।

प्रधानमन्त्री संरक्षक रहेको नेपाल ट्रष्टका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई घटनाबारे जानकारी गराइकेको बताउँदै सदस्य सचिव पोखरेलले सुरक्षा गार्ड नहटाउने र स्थायी कार्यालय नै स्थापना गरिने बताए ।

नेपाल ट्रष्ट संचालक समितिका सचिव गजेन्द्र ठाकुरले नेपाल ट्रष्टको नाममा लालपूर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाउदै जग्गा हडप्ने प्रयास गरेको बताउदै नेपाल ट्रष्टको नाममा १६ जिल्लामा रहेको २७ हजार रोपनी जग्गा संरक्षणको काम भइरहेको बताए ।

यसअघि गत असोज १० गते नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्ष पोखरेल, भक्तपुरका सांसद महेश बस्नेतसहतिको टोलीले उक्त जग्गाको अनुगमन गरी नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा ट्रष्टले नै संरक्षण गर्ने जानकारी गराएको थियो ।