सीमित समयको लागि नयाँ ट्याक्सीको दर्ता खुल्दै

सीमित समयको लागि नयाँ ट्याक्सीको दर्ता खुल्दै


सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको जानकारी दिँदै यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएकोले नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने हमालको भनाई छ ।

विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ । ट्याक्सीको दर्ता नियमित रूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने भन्दै हमालले अहिले सीमित सङ्ख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुने खुलासा उनले गरे ।

सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै विसं २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८०० अश्वक्षमता बराबरका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा हालका ट्याक्सीको यात्रा यात्रुका लागि असहज हुने गरेको छ ।


rss