मदिरा सेवन गरेर प्रहरी हवल्दारले गरे महिलामाथि हातपात

मदिरा सेवन गरेर प्रहरी हवल्दारले गरे महिलामाथि हातपात


■ नारद कोहार, कपिलवस्तु

रक्सी सेवन गरी महिलामाथि दुर्व्यवहार गर्ने प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । गत बुधवार (२७ मंसिर) साँझ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर जि.सी.ले सदरमुकाम तौलिहवा पुरानो हाटबजारस्थित एक रेस्टुरेन्ट सञ्चालक महिलाउपर दुर्व्यवहार तथा हातपात गरेको आरोपमा निलम्बनमा परेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

प्रहरी हवल्दार बलबहादुर जि.सी.ले अन्यत्रैबाट रक्सी सेवन गरी आफ्नो रेष्टुरेन्टमा आएर आफूलाई लछारपछार गरी दुर्व्यवहार गरेको रेष्टुरेन्ट सञ्चालक महिलाले बताइन् ।

उनले दाबी गरेअनुसार प्रहरी हवल्दार जिसी प्रहरी पोशाक (युनिफर्म)मा थिए । अधिक मदिरा सेवन गरेका हवल्दार जि.सी.ले आफ्नो संवेदनशील अंगमा समेत प्रहार गरी कुटपीट गरेको पीडित महिलाको आरोप छ । प्रहरी हवल्दारले रेष्टुरेन्टको टेबल, कुर्सी समेत टोडफोड गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र निलम्बनमा परेका प्रहरी हवल्दार जिसीलाई नियमअनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक मल्लले बताए ।