झुलाघाट नाका चार दिन बन्द हुने

झुलाघाट नाका चार दिन बन्द हुने


भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधान सभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।