मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा प्रधानमन्त्री ओली

मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्माले आज मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । पहिलेदेखि नै केही मन्त्रीहरूको कार्यबाट असन्तुष्ट रहँदै आएका प्रधानमन्त्री ओलीले आज केही मन्त्रीलाई बिदाइ गर्दै छन् ।

मन्त्रिमण्डल पुनर्गठनको विषय छलफल गर्न सोमबार बिहान नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरस्थित खुमलटार निवासमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन पुगेका थिए ।

मन्त्रिमण्डल पुनर्गठनको विषयलाई लिएर उनीहरूबीच करिब डेढ घन्टा छलफल भएको स्रोतले बताएको छ । उनीहरूबीच भएको छलफलको निष्कर्ष लिएर पुष्पकमल दाहालले आजै प्रधानमन्त्री ओलीलाई भेट्ने र मन्त्रिमण्डल पुनर्गठनलाई अन्तिम रूप दिने बताइएको छ ।

पुष्पकमल दाहालसँगको छलफलपछि आजै अबेरसम्ममा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई बिदा दिएर केही नयाँ अनुहारलाई मन्त्रिमण्डलमा समावेश गर्ने बुझिएको छ ।

आज ६ देखि १० जनासम्म मन्त्रीले बिदा पाउने स्रोत बताउँछ । आज बिदा पाउने सम्भावित मन्त्रीहरूमा लालबाबु पण्डित, गोकर्ण विष्ट, रघुवीर महासेठ, जगतबहादुर विश्वकर्मा, थममाया थापा, शक्ति बस्नेत, विना मगर, चक्रपाणि खनाल, मातृका यादवलगायत रहेका छन् । तर, विना मगरको कार्य सम्पादनप्रति असन्तुष्टि रहे पनि प्रचण्डको जोडबलमा उनको मन्त्रालय मात्रै पनि हेरफेर हुने उत्तिकै सम्भावना रहेको स्रोत बताउँछ ।

यसैगरी मन्त्रिमण्डलमा नयाँ थपिनेहरूमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, शिवमाया तुम्बाहाम्फे, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवारहरूको नाम सर्वाधिक चर्चामा रहेको छ । यसैगरी जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु शाहको नाम पनि चर्चामा रहेको छ ।