चौरासीको खर्च कटाएर विद्यालयलाई ११ रोपनी जग्गादान

चौरासीको खर्च कटाएर विद्यालयलाई ११ रोपनी जग्गादान


अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गरेका छन् । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गरेका हुन् । उनले पाणिनी गाउँपालिका–३ खिदिममा रहेको ११ रोपनी जग्गा र नगद रु. पाँच हजार पाणिनी–२ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गरे ।

चौरासी पूजामा खर्च नगरी जग्गा नै विद्यालयलाई दिएको र उक्त जग्गाले विद्यालयको श्रीवृद्धिमा काम गर्ने भएकाले उक्त जग्गादान गरेको ८४ वर्षीय वृद्ध सार्कीले बताए । आफूले गरेको काम सबैका लागि प्रेरणा हुने सार्कीको भनाइ छ ।

विद्यालयमा एक कार्यक्रमबीच उक्त जग्गाको लालपुर्जा वृद्ध सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गरे । ‘एक दलित परिवारको वृद्ध भएर पनि मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरी समाजकै उदाहरणीय काम गरेका छन् । यसबाट हामी सबैले सिक्न जरुरी छ,’ वडाध्यक्ष भट्टराईले भने । विद्यालयको विकासमा यो जग्गादानले उल्लेखनीय भूमिका खेल्नेछ । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनालले दाता सार्कीको कार्यको प्रशंसा गरे ।
rss