नक्शा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण : प्रधानमन्त्री ओली

नक्शा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जमीन कसैलाई मिच्न नदिइने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार (१ मंसिर) आयोजना गरेको भेलामा उहाँले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको बताउनुभयो ।

मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै राजनीतिक दल एकीकृत भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

‘दशकौँअघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इञ्च पनि जमीन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

विश्व समुदायका सामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इञ्च जमीन नमिच्ने र अरुलाई पनि आफ्नो जमीन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । कतिपयले सरकारलाई नक्शा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्शा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । ‘कतिपयले नयाँ नक्शा छाप्न सुझाव दिनुभएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी नक्शा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ।’

दशकौँअघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ति देखाउने नाममा उत्श्रृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताका पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उत्श्रृङ्खल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौँ ।’

प्रधानमन्त्री ओलीले सङ्क्रमणकाल अन्त्य गरी कानूनी आधारसमेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको उल्लेख गर्नुभयो । ‘कानूनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनुपरे पनि आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुऱ्याउन सफल भएका छौँ, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौँ’, प्रधानमन्त्री ओलीले अगाडि जोड दिँदै थप्नुभयो, ‘उत्पादन वृद्धि र पूर्वाधार विकासमा हामी तीव्र गतिका साथ अघि बढेका छौँ ।’

प्रधानमन्त्री ओलीले वैचारिक पूर्वाग्रह र आफूले व्यक्तिगतरुपमा केही नपाएको गुनासोजस्ता कारणले मात्रै सरकारको विरोध भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘सरकारले राम्रै गरे पनि कम्युनिष्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसाबले एकथरीले सैद्धान्तिकरुपमा विरोध गरिरहेका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्काेथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइन नि भनेर पनि विरोध भइरहेको छ ।’ उहाँले तथ्यमा आधारित विरोधले मात्र कमजोरी सुधार्न सहयोग पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिँदै सोचाइमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा सङ्घका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

file pict: rss