सञ्चारमाध्यमलाई समृद्धिको सम्बाहक बन्न आग्रह

सञ्चारमाध्यमलाई समृद्धिको सम्बाहक बन्न आग्रह


■ नारद कोहार, कपिलबस्तु

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्ध राष्ट्रका लागि नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्।

अधिकारविहीन नागरिकहरु समृद्धिको आधार बन्न नसक्ने भन्दै पोखरेलले भने ‘अधिकारविहीन, कमजोर र निर्धो नागरिक समृद्ध राज्यको आधार बन्न सक्दैनन्, त्यसैले नागरिकलाई अधिकारसम्पन्न र बलियो बनाउनु पर्छ।’

लुम्बिनीमा आयोजना गरिएको न्युज फेस्टीवल २०७६ को आइतबार उद्घाटन गर्दै उनले नेपाली सञ्चारमाध्यमलाई समृद्धिको सम्वाहक बन्न आग्रह गरे।

सबैको एजेण्डा विकास र समृद्धि रहेको उनको भनार्इ छ। नेपाली समाजमा सन्देह, निराशा र आलोचना सहज ढंगले बिकिरहेको बताउँदै समाजलाई अगाडि बढाउन सकारात्मक चेतना आवश्यक रहेको उनले बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाली सञ्चारले संघीयताको अनुभूति गराएको दाबी गरे । नेपाली सञ्चारमाध्यमको अबको मिसन मुलुकको आर्थिक समृद्धि र विकास नै रहेको उनको धारणा थियो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षतामा सम्पन्न कार्यक्रम तीन दिनसम्म चल्नेछ। कार्यक्रममा देशभरका तीनसय बढी पत्रकारहरुको सहभागिता छ।