समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी : आइजीपी खनाल

समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी : आइजीपी खनाल


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने धारणा राखेका छन् ।

महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आइतबार (१ मंसिर) राजधानीमा आयोजित समारोहमा उनले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने बताए ।

प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उनले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाएर समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको जिकिर गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो भने पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजकातर्फबाट प्राडा वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गरेका थिए ।

pict: nepal police