धेरै कर तिर्ने १५ करदाता सम्मानित

धेरै कर तिर्ने १५ करदाता सम्मानित


आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित समारोहमा करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्ने उनीहरूलाई सम्मान गरेका हुन् ।

सो अवसरमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सम्मानित भएको छ । यसअघि पनि तीनपटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सिद्धार्थशमशेर जबरा सम्मानित भए । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा उनी यसअघि पाँचपटक सम्मानित भइसकेका छन् ।

यस्तै, डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्र्डलिंक र अग्नि इन्कर्पाेरेट आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानित भएका छन् । तारागाउँ रिजेन्सी होटेल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भीएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भएका छन् ।

समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा भने घोराही सिमेन्ट सम्मानित भएको छ । यसपटक सम्मान प्राप्त गर्नेमध्ये सूर्य नेपाल, सिद्धार्थशमशेर जबरा, घोराही सिमेन्ट, ताराजागउँ रिजेन्सी, छिमेकी लघुवित्त, डाबर नेपाल भने दोहोरिएका हुन् ।
rss