मुलुकलाई ऋणको मारबाट मुक्त गराउन अलोकप्रिय करनीति : खतिवडा

मुलुकलाई ऋणको मारबाट मुक्त गराउन अलोकप्रिय करनीति : खतिवडा


अर्थमन्त्री युवराज खतिवडाले मुलुकलाई अत्यधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धी अलोकप्रिय नीति लिनुपरेको बताएका छन् ।

मुलुकलाई अत्यधिक ऋणको भारबाट मुक्त गराउन सरकारले करनीति बनाउँदा केही अप्ठ्यारो भएको स्वीकार गर्दै उद्योग–व्यवसायका लागि चाँडै सहज वातावरण बन्ने मन्त्री खतिवडाको दाबी छ ।

आठौँ कर दिवसको दिन आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्यधिक ऋणको बाटोमा जान्छौँ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अत्यधिक ऋणको चापले मुलुकलाई संकट पर्ने हुनाले अर्थमन्त्रीको रूपमा मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धी अलोकप्रिय निर्णय लिनुपरेको हो ।’

तत्कालका लागि आफूले लिएको करनीति अलोकप्रियजस्तो लागे पनि यसले मुलुकको अर्थतन्त्रलाई सबल, आत्मनिर्भर र सुदृढ बनाउने खतिवडाको भनाइ छ ।