गोवामा ‘मेरो मुलुक मेरो हस्ताक्षर’ आरम्भ

गोवामा ‘मेरो मुलुक मेरो हस्ताक्षर’ आरम्भ


‘मातृभुमिका लागि नेपाली’ अभियानले आयोजना गरेको ‘मेरो मुलुक मेरो हस्ताक्षर’ कार्यक्रम गोवा (भारत)मा पनि सम्पन्न भएको छ । हस्ताक्षर शुभारम्भको दिन (३० कात्तिक २०७६) पहिलो हस्ताक्षर मातृभुमिका लागि नेपालीका भारतका लागि संयोजक सुशील देवकोटाले गर्नुभएपछि औपचारिक रूपमा हस्ताक्षर कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

हस्ताक्षर कार्यक्रम शुरु हुनुअघि भेलालाई सम्बोधन गर्दै देवकोटाले नेपाललाई एक सूत्रमा बाँध्ने तत्वहरूमाथि जानी–जानी प्रहार भइरहेको वर्तमान समयमा राष्ट्र बचाउन हिन्दू धर्मको पक्षमा संसारव्यापी हस्ताक्षर अभियान गरिएको जानकारी गराउनुभएको थियो ।

मातृभुमिका लागि नेपाली गोवा कमिटीका अध्यक्ष कृष्ण सिंह सामन्तले हिन्दू राष्ट्रले मात्रै नेपाललाई सही पहिचान दिने भन्दै आफ्नो मौलिक पहिचानको लागि हस्ताक्षर अभियान सफल पार्नुपर्ने बताउनुभयो भने उपाध्यक्ष मेलिना गायकले देश बचाउने सवालमा आफैं स्वतःस्फूर्त रुपमा अघि नबढे देशको अस्तित्व संकटमा पर्ने धारणा राख्नुभयो ।

गोवा कमिटीका सचिव मदन सामन्तले प्रवासमा बसे पनि देशको माया मनमा रहने भन्दै मनभित्रै राम र हराम दुवै हुने र हामीले हरामलाई हराउँदै रामलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, गोवा कमिटीका कोषाध्यक्ष विराज चन्दले जबसम्म नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिँदैन तबसम्म यो संघर्ष नरोकिने भन्दै आफू यो अभियानलाई सफल पार्न मन वचन र कर्मले प्रतिबद्ध रहने बताउनुभयो ।

कात्तिक ३० मा शुरु गरिएको हस्ताक्षर अभियानमा विविध कारणले पहिलो दिन हस्ताक्षर गर्न नपाउनुभएका गोवावासी नेपालीहरूले मातृभुमिका लागि नेपाली गोवा कमिटीका अभियन्ताहरूसँग सम्पर्क गरी नेपाललाई धर्मसापेक्ष राष्ट्र बनाउने गौरवमा समावेश हुनसक्ने जानकारी देवकोटाले दिनुभएको छ ।