१३औँ ‘साग’को काउन्ट डाउन सुरु

१३औँ ‘साग’को काउन्ट डाउन सुरु


१३औँ दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु गरिएको छ । प्रचारप्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् एवं १३औं साग आयोजक समितिका सदस्यसचिव रमेशकुमार सिलवालले सो बारे जानकारी गराए । सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइट पनि सार्वजनिक गरिएको छ ।

सदस्यसचिव सिलवालले १३औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य रहेको जानकारी दिए । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोश्रो स्थान हात पारेको थियो ।

सदस्यसचिव सिलवालले साग खेल सारा नेपालीहरुको गौरवको विषय रहेको बताउँदै यसलाई सफल पार्न सबै पक्षसँग आग्रह गरे । उनले भने– ‘साग गेम्स एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै पक्ष मिलेर सागलाई सफल पारौँ ।’

सो अवसरमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने तिथि रहेकाले त्यसपछि मात्र खेलाडीहरुको पूर्ण जानकारी प्राप्त उल्लेख गर्दै उत्साहजनक रुपमा सबै राष्ट्रले सहभागिता जनाएको बताए । प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको । सागमा २७ खेल (बीच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरी सागमा कुल २९ खेल समावेश गरिएको छ ।

२० वर्षअघि जम्मा १२ खेल समावेश गरि आठौँ दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकोले ब्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ ।

सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार बिदेशी पाहुनालाई हामी स्वागत गर्दैछौ । काठमाडौं सहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ । काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुनेछ । (फुटबल, भलिबल र क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ ।)

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको आयोजनासँगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ ।

विगतको दाँजोमा सागमा सहभागी खेलाडीलाई झण्डै दोब्बर भत्ताको ब्यवस्था गरिएको छ । नेपाल सरकारबाट १३ साग आयोजनाको निम्ति करिब साढे ४ अर्ब रुपैयाँको बजेट निकासा भएको छ । जसमा पूर्वाधार निर्माणको निम्ति १ अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति ३ अर्व ६५ करोड बजेट रहेको छ । आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ ।

पत्रकार सम्मेलनपछि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा सागको प्रोमोको पनि उदघाटन गरिएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्यसचिव रमेशकुमार सिलवालले रिबन काटेपछि डिस्प्लेमा प्रोमो प्रशारण भएको थियो ।