उपनिर्वाचन कास्की क्षेत्र नं २ : उम्मेदवार रजनीको आत्मविश्वास

उपनिर्वाचन कास्की क्षेत्र नं २ : उम्मेदवार रजनीको आत्मविश्वास


कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि आगामी १४ गते हुने हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान पनि निकै तीव्र बनिरहेको छ । खासगरी, पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीको चुनावी चर्चा निकै छ यस निर्वाचन क्षेत्रमा ।

सो पार्टीका उम्मेदवार रजनी केसी गत भदौमा मात्र नेपाली कांग्रेस पार्टी परित्याग गरेर साझा पार्टी प्रवेश गरेकी हुन् । सक्रिय राजनीतिमा संलग्न हुनकै लागि उनले गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएकी थिइन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट माग्ने क्रममा शनिबार उम्मेदवार केसीलगायत साझा पार्टीको चुनाव प्रचार टोलीले पोखरा महानगरपालिका वडा नं २० भलाममा कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको दाबी छ उम्मेदवार रजनी केसीको । तराजु चुनाव चिह्न लिएर मतदातामाझ पुगेकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको जिकिर गरिन् ।

अन्य पार्टी उम्मेदवार चयनको उहापोहमा फसिरहेकै बेला सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको थियो साझा पार्टीले । कांग्रेस पार्टीबाट मुलुकको भविष्य उज्यालो बन्न नसक्ने ठहर गर्दै साझा पार्टी रोजेकी रजनीलाई आफ्नो उम्मेदवार बनाउन रत्तिभर अलमल गरेन साझाले । आकर्षक व्यक्तित्व भएकी युवा उम्मेदवार रजनीको सक्रियता पनि उत्तिकै रहेकोले यस क्षेत्रमा उनको चर्चा विशेष रहेको पाइएको छ ।

आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको साझा पार्टीले स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने दाबी गरेको छ । आफ्नो उम्मेदवारी घोषणाकै दिन रजनीले सांसदलाई ‘ठेकेदार’को तहमा झार्ने गरी प्रति वर्ष ६ करोड रुपैयाँ दिने निर्णयको जोडदार रुपमा भर्त्सना गर्ने बताएकी थिइन् । सरकारको उक्त निर्णय चरम नीतिगत भ्रष्टाचार भएकोले सांसद भएपछि आफूले उक्त रकम नलिने घोषणा गरेकी थिइन् ।

पोखरा महानगरपालिकासँगको समन्वयमा क्षेत्र नम्बर २ का खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, पार्किङ व्यवस्थापन, केटाकेटी खेल्ने पार्क निर्माण, वृद्धवृद्धा टहलिने ठाउँ, सोलार बत्ति, ढल तथा फोहोरमैला व्यवस्थापन, सकुम्बासी व्यवस्थापन, युवाको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने रजनीको प्रतिबद्धता छ । जनताले वैकल्पिक शक्ति खोजेकाले आफ्नो विजय निश्चित रहेको रजनीले बताउँदै आएकी छिन् ।