स्वास्थ्य स्वयम्सेविकाको नाममा घरघरमा ‘वाह्य’ एजेन्ट ?

स्वास्थ्य स्वयम्सेविकाको नाममा घरघरमा ‘वाह्य’ एजेन्ट ?


नेपाली काङ्ग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी सङ्घ, जो नेपाल ट्रेड युनियन काङ्ग्रेससँग आबद्ध छ, त्यसको निर्वाचन अत्यधिक भाँडभैलोका साथ हालै सम्पन्न भएको छ । निर्वाचनमा रामजी घिमिरे, दीपकराज भट्टलगायतले मतदाता बनाएर आफूलाई ‘विजयी’ तुल्याएका छन् । रामजी र दीपक दुवैजना उमाकान्त स्वास्थ्यमन्त्री भएको बेलादेखि नै स्वास्थ्य सेवा विभागका सबै स्रोत–साधनमा चलखेल गर्दै आएका पात्र हुन् ।

अहिले दीपकराज भट्ट नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष राम भण्डारी, रजिस्ट्रार भट्ट, रामजीलगायतले निजी अस्पताल मेडिकल कलेजबाट एकातिर करोड रुपैयाँसम्म चन्दा असुल गरेका छन् भने अर्कोतिर तिनै निजी स्वास्थ्य संस्था मेडिकल कलेजबाट फर्जी प्रतिनिधि बनाई निर्वाचन कब्जा गर्न सफल भएका छन् । देवराज लामिछाने, रामजीलगायतले स्वास्थ्यकर्मी नरहेका घर–परिवारका सदस्यको नाममा समेत मत हाल्न लगाएको चर्चा यतिबेला व्याप्त छ । दुई सय महिला स्वास्थ्यस्वयम्सेवक, आमा समूहलाई सुनधारामा चार दिनसम्म बसाएर विशेष आवास भोजनको व्यवस्था गरी स्वास्थ्यकर्मीको चुनावमा गैरस्वास्थ्यकर्मीहरूबाट मतदान गराई जित्ने प्रपञ्च जो गरियो, यो शर्मनाक छ ।

स्वास्थ्यकर्मी सङ्घमा यसरी धाँधली गरेर निर्वाचन कब्जा गर्नुपर्ने राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय कारण छ । नेपालमा अहिले करिब ६० हजारजति महिला स्वास्थ्य स्वयम्सेविकाहरू कार्यरत छन् । ती महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई तत्कालीन जिफन्टका अध्यक्ष विष्णु रिमालले बिमा गर्ने भनेर झुक्याउँदै जिफन्टको सदस्यता दिन लगाएका थिए । त्यसपछि नेपाल ट्रेड युनियन काङग्रेसले पनि त्यही कार्य शुरु गरेको छ । नेपालका ६० हजार महिला स्वास्थ्य–स्वयम्सेविकामा अन्तर्राष्ट्रिय ट्रेड युनियनको नाममा पश्चिमा मिसिनरीहरूको लगानी रहेको छ । महिलामार्फत उनीहरूको एजेन्डा सजिलै भिटामिन ए पोलियोसँगै नेपालीको घरघरमा पुगेको छ ।

प्रत्यक्ष ढङ्गले यस्तो काम गरेको पब्लिक सर्भिस इन्टरनेसनल भन्ने अन्तर्राष्ट्रिय ट्रेड युनियनको मुख्य कार्यालय फ्रान्समा रहेको छ । अबको दश वर्षमा महिला स्वास्थ्यमा पश्चिमाहरूले ठूलो लगानी गर्दै छन् । त्यही लगानीमा विदेश भ्रमण, तारे होटेलका गोष्ठी–सेमिनार भत्तालगायतको आकर्षणमा नेपालका ट्रेड युनियन नेताहरू लागिपरेका छन् । पहिला स्वास्थ्यकर्मी सङ्घको सदस्य बन्न कम्तीमा तीन महिनाको तालिम भए पुग्ने थियो, विदेशी अनुदान सहायता आउन थालेपश्चात् अहिले महिला स्वास्थ्य स्वयम्सेविका आमासमूहलाई सदस्य बनाएर बढी सदस्यता देखाउँदा विदेशबाट बढी अनुदान सहायता आउने भएकाले बढीभन्दा बढी सदस्यता बढाउने होड चलेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनमार्फत ‘१५९’ आर्टिकल नेपाललाई पास गर्न बाध्य बनाएर रणनीतिपूर्वक सफल भएको अमेरिकी इन्टेलिजेन्स पूर्वप्रशासकले उल्लेख गरिसकेका छन् । अब महिला स्वास्थ्य स्वयम्सेविका आमा समूहमार्फत घर–घर पुग्ने योजना तिनले बनाएका छन् । पाकिस्तान, अफगानिस्तानमा पनि पोलियो खुवाउने नाममा पश्चिमा एजेन्ट घरघर पुगेका थिए, नेपालमा पनि त्यही काम हुँदै छ ।