नागरिकता, राष्ट्रियता र नैतिकता

नागरिकता, राष्ट्रियता र नैतिकता


■ प्रा.डा. दुर्गा दाहाल

नागरिकता, राष्ट्रियता र नैतिकता !…

उपर्युक्त तीन शब्दहरू अत्यन्त संवेदनशील र अमूल्य छन् । यी शब्दहरूले एउटा राष्ट्र र व्यक्तिको जीवनमा अत्यन्त महत्वपूर्ण अर्थ राख्छन्, तर नेपालको परिप्रेक्ष्यमा उपरोक्त तीनै शब्द निकै ठूलो धरापमा परेका देखिन्छन् ।

कुनै पनि देशको नागरिकता ‘डालीमा सागका मुठा’ बेचे जसरी दिन मिल्दैन । नागरिकता प्राप्त गर्नका लागि नागरिक हुने योग्यता पुग्नुपर्छ । नागरिक योग्य हुनका लागि न्यूनतम निम्नलिखित गुण हुनु आवश्यक छ-

१. सम्बन्धित देशमा जन्मिएको हुनुपर्छ अथवा हजुरआमा, हजुरबा, आमा–बुबामध्ये कोही एक त्यो देशको नागरिक भएको हुनुपर्छ ।
२. सम्बन्धित देशप्रति उसको केही योगदान रहेको हुनुपर्छ ।
३. त्यो देशको भाषा, भूगोल, संस्कृति, इतिहास, सामान्य नागरिक शिक्षा, कानून, सरकार र राजनीतिक व्यवस्था आदिको बारेमा समसामयिक ज्ञान हुनु जरूरी छ ।
४. सम्बन्धित देशको भाषा लेख्न, बोल्न र पढ्न जान्नुपर्छ र एउटा प्राथमिक परीक्षा उत्तीर्ण गर्नुपर्छ ।
५. सम्बन्धित देशको राष्ट्रियताको रक्षा गर्छु भनेर अदालतमा गएर शपथग्रहण गर्नुपर्छ ।

‘राष्ट्रियता’ भनेको अति मूल्यवान र आत्मीय शब्द हो । यो शब्दको सम्बन्ध ‘आत्मा’सँग जोडिएको हुन्छ । आत्मा साक्षी राखी अन्तस्करणबाट राष्ट्रप्रति इमानदार र वफादार भएको हुनुपर्छ । राष्ट्रियता भूगोल मात्रै नभएर भावना पनि हो र सम्बन्धित राष्ट्रसँग भावनात्मक सम्बन्ध पनि हुनुपर्छ र त्यो भावना नैतिकतासँग पनि जोडिएको हुनुपर्छ ।

हरेक नागरिकको जीवनमा नैतिकताको प्रश्न जोडिएको हुन्छ । नैतिकता नभएको व्यक्ति सामाजिक र सार्वजनिक पदका निम्ति पनि योग्य ठहरिँदैन ।

नेपालको नागरिकता बिक्री भएको छ । सरकारमा बसेका मन्त्री र स्थानीय तहका ठुटे नेताहरूले हरेक वर्ष व्यक्तिगत स्वार्थका निम्ति हचुवा पाराले नेपालको नागरिकता बेच्दै आएका छन् भन्ने कुरा प्रमाणित भइसकेको छ ।

नेपालका नेताहरूमा (अपवादबाहेक) नैतिकता छैन । व्यक्तिगत स्वार्थका निम्ति नैतिकता बेचेर जतिसुकै भ्रष्टाचार गर्न पनि यिनीहरू उद्यत् छन् । काण्डैकाण्डमा संलग्न भई यिनीहरूले लाज पचाइसकेका छन् ।

अतः नेपाली बुद्धिजीवी र नागरिकहरूले अहिलेको व्याप्त भ्रष्टाचार, व्यभिचार, अनाचार अत्याचार र प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथिको ठाडो हस्तक्षेपको विरोधमा बोलौँ, लेखौँ र अहिले चलिरहेको ‘नागरिक आन्दोलन’को समर्थन गरौँ ।