क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु


संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् ।

साथीमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेको प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

बताइएअनुसार सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । स्कुलमा गोली चलाउनुपर्ने कारणबारे केही खुलेको छैन ।

विगत दुई दशकमा अमेरिकी स्कुलमा भएका ‘मास सुटिङ’मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ ।

अमेरिकी संसद्मा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाई गर्न लामो समयदेखि बहस जारी छ तर अमेरिकाका मुख्य दुई दल रिपब्लीकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच सहमति हुनसकेको छैन । रिपब्लीकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बन्दुकमाथि धेरै कडाई गर्न नहुने पक्षमा छन् तर डेमोक्र्याट पार्टी कडा नियमको पक्षमा छ ।

प्रहरी अधिकृत केन्ट वेगेनरले एसियाली मूलका एक किशोरले आफ्नो झोलाबाट बन्दुक झिकेर साथीमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनशायले आफैंलाई गोली हानेको जानकारी दिए ।

मृत्यु हुनेमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिका रहेका छन् । सो विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।