चीनमा जासूसी गरेको आरोपमा पक्राउ परेका जापानी नागरिक मुक्त

चीनमा जासूसी गरेको आरोपमा पक्राउ परेका जापानी नागरिक मुक्त


जासूसी गरेको आरोपमा चीनमा पक्राउ परेका एक जापानी नागरिकलाई चीनले मुक्त गरेको छ । टोकियोस्थित एक सरकारी अधिकारीले पक्राउ परेका ती जापानी नागरिक स्वदेश फर्किएको जानकारी दिएका एएफपीले जनाएको छ ।

चिनियाँ कानुन उल्लङ्घनको आरोपमा गत सेप्टेम्बरदेखि करिब ४० वर्षका एक जापानी नागरिकलाई चीनले पक्राउ गरेको टोकियोले गत महिना पुष्टि गरेको थियो । जापानी सञ्चारमाध्यमले ती व्यक्ति होक्काइडो विश्वविद्यालयका एक प्राध्यापक रहेको बताउँदै आएका छन् ।

जापानका विदेशमन्त्री तोसिमिचु मोटेगीले पत्रकारलाई चीनमा गिरफ्तार भएका जापानी नागरिक सुरक्षित रुपमा स्वदेश फर्किएकामा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले भने नोबु इवातानी नाम गरेका जापानी नागरिकले चीनबाट गोप्य सूचना सङ्ग्रह गरेको स्वीकार गरेको जनाएको छ । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले जापानी नागरिकले सूचना सङ्ग्रह गरेको कुरा तथ्यले पुष्टि गरिसकेको दाबी गरे ।

सन् २०१७ मा चीनले गैरकानुनी कृयाकलापमा सम्बद्ध रहेको भन्दै ६ जना जापानी नागरिकलाई पक्राउ गरेको थियो । जापानी सञ्चारमाध्यमका अनुसार सन् २०१५ यता जासूसी समेतको अभियोगमा कम्तीमा १३ जना जापानी नागरिक चीनमा पक्राउ परेका छन् ।