ठगी मुद्धामा थुनिएका रुप ज्योतिलाई रिहा गर्न दीपकुमारको माग

ठगी मुद्धामा थुनिएका रुप ज्योतिलाई रिहा गर्न दीपकुमारको माग


■ नारद कोहार, कपिलवस्तु

ठगी मुद्धामा सर्वोच्च अदालतको आदेशअनुसार कानुनी कारवाहीका निम्ति प्रहरी हिरासतमा रहेका पूर्व अर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तत्काल रिहा गर्न पूर्वराजदुत समेत रहेका कांग्रेस नेता दीपकुमार उपाध्यायले सरकारसँग माग गरेका छन् ।

आपसी छलफल र सम्वादबाट समाधान गर्न सकिने लेनदेनको मुद्दालाई फैजदारी मुद्दा जस्तो गरी थुनामा राख्नु निजी क्षेत्रमाथि राज्य आक्रमण हो भन्ने उपाध्यायको तर्क छ । उनले प्रहरी प्रशासनको कदमको निन्दा गरेका छन् ।

गृहजिल्ला कपिलवस्तुमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा पूर्वराजदुत उपाध्यायले रुप ज्योति थुना प्रकरणले पूरै निजी क्षेत्र राज्यआतंकबाट त्रसित बनेको आरोप लगाए । छोरी सुरचीसहित सो घरानाका ११ जनाउपर कारवाही प्रक्रिया अघि बढाउनु राज्य शक्तिको दुरुपयोग रहेको तर्क उनले गरे । उपाध्यायले भने, ‘सरकारको यस्तै रवैया बढ्दै जाने हो भने राष्ट्रिय पूँजीपतिहरु पलायनको बाटोतर्फ लाग्नेछन् ।’

सरकारले उद्योगपतिहरुलाई संरक्षणको नीति लिई मुलुकमा उद्योग धन्धाको विकास, रोजगारीको अवसर सृजना, राजश्व संकलनमा वृद्धि, स्वदेशी वस्तु उत्पादनमा जोड दिनुपर्ने नीति लिए मात्रै मुलुकमा समृद्धि आउन सक्ने उपाध्यायले बताए । तर सरकारले उल्टै उद्योगी व्यवसायीहरुलाई डण्डा लगाएर तर्साउन खोज्ने नीति लिएको आरोप उनले लगाए ।

प्रहरीले हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई गत साता शुक्रबार विमानस्थलबाट पक्राउ गरेको छ । रुप ज्योतिमाथि हाउजिङका नाममा विभिन्न व्यक्तिसँग १ करोड ३६ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।

यसैबीच, जिल्ला सरकारी वकिलको कार्यालयले ठगी आरोपमा पक्राउ परेका रुप ज्योतिलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहितको मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटन पठाउने निर्णय गरेको छ । उनलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेर पठाइएको र उक्त पत्र पाएलगत्तै रुप ज्योतिलाई रिहा गरिएको छ ।

यो पनि हेर्नुहोस्-

रूपज्योतिको असली रूप !
https://ghatanarabichar.com/170537