चिसापानीमा सातदिने निःशुल्क दन्त शिविर सम्पन्न

चिसापानीमा सातदिने निःशुल्क दन्त शिविर सम्पन्न


नुवाकोटको चिसापानीस्थित हिल्चे आधारभूत विद्यालयमा सातदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

शिविर अमेरिकाको अलोहा मेडिकल मिसन र थटफुल मिसन वसुन्धराको सहकार्यमा कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन भएको हो ।

चिसापानीमा निःशुल्क दन्त शिविर बस्दै छ भन्ने थाहा पाएर चार घन्टाको पैदल दूरीको बाटोमा खालीखुट्टा ६५ वर्षका वृद्धसम्म आएका थिए । शिविरमा ८४ वर्षका वृद्धदेखि दुई वर्षसम्मका १४५९ जना सेवाग्राही उपस्थित रहेका थिए । तीमध्ये ८३५ जनाको दाँतमा विभिन्न समस्या देखिएकोमा उनीहरूको निःशुल्क उपचार गरिएको थियो । जसमा दाँत भर्ने, उखेल्ने र सफा गर्नेजस्ता कार्य गरिएको थियो ।

अलोहा मेडिकल मिसनका डा. डेन सुडानको नेतृत्वमा एकजना नेपाली दन्तरोग विशेषज्ञ महेश्वर ताजपुरियासहित आठजनाको स्वास्थ्य टोलीले शिविरमा सेवा पुऱ्याएको थियो । शिविरमा दन्तरोग उपचारमा प्रयोग हुने विशेष प्रकारको फोल्डिङ गर्न मिल्ने ‘डेन्टल चियर’ डा. डेनले आफ्नै खर्चमा अमेरिकाबाटै लिएर आएका थिए । शिविर सम्पन्नपछि उक्त ‘डेन्टल चियर’ डा. डेनले थटफुल मिसनलाई हस्तान्तरण गरेका थिए ।

थटफुल मिसनकी अध्यक्ष गंगा लिम्बूको मुख्य संयोजन, सीता रुपाखेतीको टिम संयोजन र ज्योति रावल केसीको शिविर सञ्चालनका लागि मुख्य भूमिका रहेको थियो । शिविरमा सेवाग्राहीलाई उपचारपछि औषधि, ब्रस, पेस्टका साथै बालबालिकालाई खेलौना पनि निःशुल्क वितरण गरिएको थियो ।

आर्थिक रूपमा अत्यन्त विपन्न परिवारका व्यक्तिको निःशुल्क उपचार गर्ने उद्देश्यले सन् १९८३ मा स्थापित अलोहा मेडिकल मिसनले अहिलेसम्म विश्वका १६ देशका दुई लाख ७२ हजार व्यक्तिलाई सेवा पुऱ्याइसकेको छ ।


प्रवीन श्रेष्ठ