अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीपमा नेपालको चुनौती समाप्त

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीपमा नेपालको चुनौती समाप्त


योनेक्स सनराइज अन्तराष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीपमा नेपालको चुनौती समाप्त भएको छ । पहिलो दिन विजय हासिल गरेर आशाको दियो बालेका दीपेश धामी र विष्णु कटुवाल दोश्रो दिन पराजित भएका छन् ।

विष्णु कोरियाका यु जिन सोनसँग २३–२१, २१–१७ र दिपेशले भियतनामका खेलाडी साव सुङ्ग फामसँग २१–१३, १७–२१, २१–४ ले पराजित भएका हुन् । फाम यस च्याम्पियनसिपमा छैठौँ वरियता प्राप्त खेलाडी हुन् ।

त्यस्तै पहिलो खेलमा वाकओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका नविन श्रेष्ठ प्रतिस्पर्धात्मक खेलमा भारतका सहर्ष मोहनसंग पराजित भएका छन् । पहिलो सेट २९–२७ ले जितेर नेपाली दर्शकलाई उत्साहित बनाएका नवीन दोश्रो र तेश्रो सेटमा २१–१८, २१–१८ को समान अन्तरले पराजित भएका थिए ।

यसैगरी महिला एकलमा सीता राई थाइल्याण्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुक सँग २१–३, २१–४ ले पराजित भइन् । अधिल्लो दिन सिता भुटानकी फुन्सटो चोदेन थिङ्गलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी थिइन् । यसैगरी अघिल्लो दिन भुटानकी सम्झना गुरुङलाई २१–६, २१–१२ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी निता लम्साल दोश्रो चरणमा भारतकी मुग्धा आग्रेसँग २१–४, २१–११ ले पराजित हुन पुगिन् ।

पुरुष युगलतर्फ पनि नेपाली खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । जीवन आचार्य र सुनिल जोशीको जोडी जापानका सोतारो इनामित्सु र रिकी ताकेईको जोडी संग २१–१०, २१–११ले, दिपेश धामी र रत्नजित तामाङ्गको जोडी थाईल्याण्डका रत्तनपाक अपथङ्ग र नान्थाकर्न योर्दफाईसोङ्ग संग २१–१२, २१–११ले, विजित थापा मगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानको जोडीसँग २१–१२, २१–११ ले तथा विकास श्रेष्ठ र नविन श्रेष्ठको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडीसँग २१–१२, २१–१४ ले पराजित भए ।

मिश्रीत युगलमा पनि नेपाली खेलाडरूको प्रदर्शन राम्रो रहन सकेन । रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ्ग छान र सिउङ्ग मिन किमको जोडीसंग २१–१६, २१–८ ले पराजित भए । यस्तै विकास राई र सिता राईको जोडीले पनि पराजयको निरन्तरतालाई रोक्न सकेनन् । श्रेष्ठ र राईको जोडीले भारतका बि. सुमिथ रेड्डी र कुहु गर्गको जोडी संग २१–१४, २१–१२ हार ब्यहोरे । यस्तै विजित थापा मगर र पुजा श्रेष्ठको जोडी पनि अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग लिउङ्ग र ग्रोन्या सोमरभिलसंग २१ – १६, २१–८ ले पराजित भए ।