रत्ननगर नगरपालिकाद्वारा विपन्न समुदायको बिमा

रत्ननगर नगरपालिकाद्वारा विपन्न समुदायको बिमा


चितवनको रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने विपन्न समुदायको बिमा गरिदिएको छ । आज (शुक्रबार)बाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो ।

नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बिमा गरेका व्यक्तिको निधन, घाइते वा अंगभंग भएमा बिमा भुक्तानी गरिनेछ । मृत्यु हुँदा रु. १० लाख पाउने गरी बिमा गरिएको हो ।

यसैगरी बालीनाली, घरपालुवा जनावर र घरगोठको क्षति भएमा पनि क्षतिका आधारमा बिमा भुक्तानी गरिने नगरप्रमुख वनले जानकारी दिए । नगरपालिकाका प्रेस सल्लाहकार होमनाथ सापकोटाका अनुसार नगरपालिकाले रु. आठ लाख, विश्व वन्यजन्तु कोषले रु. आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु. चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु. चार लाख र सम्बन्धित बिमितबाट रु. आठ लाख भुक्तानी गर्ने गरी रु. ३२ लाखबराबरको बिमा गरिएको छ ।

नगरपालिकाले वडा नं ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रका विपन्न परिवारको पहिलो चरणमा बिमा गरेकामा एक निजी बिमा कम्पनीसँग सम्झौता भइसकेको र शुक्रबारबाट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने बासिन्दाले वन्यजन्तुका कारण जनधनको क्षति व्यहोर्दै आएका छन् ।
rss