नेता-कार्यकर्ता रिहाईको माग गर्दै कांग्रेसद्वारा बाँके बन्द

नेता-कार्यकर्ता रिहाईको माग गर्दै कांग्रेसद्वारा बाँके बन्द


आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले आज जिल्ला बन्द गराएको छ । तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित चार जनालाई पक्राउ गरेर हिरासतमा राखेको विरोधमा नेपाल तरुण दल बाँकेको अगुवाईमा बाँके कांग्रेसले बन्द आह्वान गरेको हो ।

कांग्रेस तथा तरुण दलका कार्यकर्ताहरु बन्द सफल गराउन सक्रियताका साथ सडकमा उत्रिएका कारण स्थानीय क्षेत्रका बजार, यातायात, शैक्षिक संस्था, कलकारखाना आदि बन्द हुन पुगेका छन् ।

प्रहरी आफैंले शाहको गाडीमा गोलीसहित हतियार राखिदिएर शाहलगायतका आफ्ना नेता तथा कार्यकर्तालाई झुठो मुद्दामा फसाएको कांग्रेसको दाबी छ । करिव दुई साताअघिदेखि यस मामलालाई लिएर स्थानीय कांग्रेस कार्यकर्ताहरु आन्दोलित छन् । निरन्तर आन्दोलनमा रहेको तरुण दलले आज (२९ कात्तिक) बाँके बन्द गराएको हो ।

बन्द सफल तुल्याउन कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, तरुण दल बँकेका अध्यक्ष वीरेन्द्र शाहसमेत सडकमा उत्रिएका छन् । उनीहरुको सक्रियतामा बजार र यातायात बन्द गरिएको छ ।