किशोरी बलात्कार गर्ने परियारलाई सात वर्ष जेल सजाय

किशोरी बलात्कार गर्ने परियारलाई सात वर्ष जेल सजाय


१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले सात वर्षको जेल सजाय र पाँच हजार दण्ड जरिवानाको फैसला गरेको छ । २५ वर्षीय विनोद परियारका विरुद्धमा अदालतले उक्त फैसला सुनाएको हो ।

विसं २०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी गरेपछि फागुन २६ गते पक्राउ गरेर चैतदेखि अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको थियो ।

जिल्ला अदालत उदयपुरका स्रेस्तेदार राजकुमार आचार्यले जनाएअनुसार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई सात वर्षको जेल सजाय र पीडितलाई पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

यसैबीच १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।